बर्षौ पुरानो लाखे नाच

बर्षौ पुरानो लाखे नाच

दैलेख : एक महिने लामो बर्षेमेला (लाखे नाच) अवलोकन गर्दै स्थानीय ।

हिक्मतबहादुर नेपाली
दैलेख :
लाखे नाच कहिले देखि सुरु भएकोे भन्ने प्रमाणित इतिहास नभएपनि दैलेखमा डेढ सय बर्ष देखि संचालन हुँदै आएको पाइन्छ । स्थानीय वयोवृद्धको भनाईलाई आधार मान्दा लाखे नाच थालिएको डेढ सय बर्ष भयो । १९७४ यता लाखे नचाउन थालिएको हो भने बर्षे मेलाको रुपमा सदिऔ देखि मनाउने गरिएको इतिहास रहेको जानकारहरु बताउँछन् । दैलेखमा नेवार समुदायको बसोबास सुरु भएपछि लाखे नाच सुरु भएको स्थानीय वयोवृद्धहरु बताउँछन् । हरेक बर्षको संचालन हुने जिल्लाको सबैभन्दा लामो मेला स्थानीयले हालसम्म पनि जोगाएका छन् । लाखे नाचमा चार किसिमको बाजा बजाउने गरिन्छ । मेलाका जानकार न्यू ज्वाला क्लबका अध्यक्ष विसाल सुनारका अनुसार सवारी ताल (जन्माष्टमी बाजा), त्रिताल, भोटेसेलो र झ्याउरे तालको बाजा बजाउने गरिन्छ ।
विगतका बर्षझैँ यसपाली पनि दैलेख बजारमा बर्षेमेलाको रौनकता छाएको थियो । बर्षे झरीमा भिज्दै स्थानीयले लाखे जात्रा, गाईजात्रा, रोपाईजात्रा, बाघ जात्रा हेरेर मनोरञ्जन लिएका थिए । रोपाई तथा खेतीबालीका काम सकिएकोले मेलाको उपयुक्त समय हो । सदरमुकाममा ग्रामिण भेगबाट मेला आएकाहरुको भीडनै लाग्ने गर्छ । गाठेमंगलबाट सुरु हुने मेला भर्न सदरमुकाम बासी मात्रै होइन, गाउँगाउँबाट समेत दर्शक आएका थिए । एक महिनासम्म नाचिने लाखेनाचको श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट समापन हुन्छ । भगवान श्रीकृष्णको जन्मलिलासँग सम्बन्धित लाखे नाच सकिएको छ । जिल्ला स्थित न्यू ज्वाला क्लब, एभरेष्ट क्लब, भगवती युवा क्लब र सुनगाभा युवा क्लबले मेला संचालन गरेका हुन् ।
मेला अवधीधर सदरमुकामको व्यापार व्यवसाय बढेको छ । विशेषगरी दैलेख सदरमुकामका नेवार समुदायले मनाउने मेला अहिले जिल्लाका दलित, जनजाती, क्षेत्री, बाह्मणहरुले मनाउन थालेका छन् । जिल्लाका अन्य स्थानहरु दुल्लु, लाँकुरी, नौमुले, बेस्तडा, पगनाथ, चुप्रा लगायतका स्थानहरूमा लाखे नाच नाचिन्छ । कृष्णाष्टमीको दिनसम्म विभिन्न मेलाहरू लाग्ने गर्दछन् । प्रहरी प्रशासनले शान्ति सुरक्षामा थप कडाई गरेकाले विगतका बर्षमा जस्तो यस बर्ष युवाहरु बीच झै झगडाका घटनाहरु नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया