सास्कृतिक कार्यक्रम मार्फत सचेतना (फोटो सहित)

सास्कृतिक कार्यक्रम मार्फत सचेतना (फोटो सहित)

ज्वाला शन्देश ।
असोज ०६, दैलेख ।
आईतबार जिल्लाको भैरवी गाउँपालिकामा मर्यादित महिनावारी र बालबिवाहका बारेमा सचेतना जगाउनका लागी सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । भैरवी गाउँपालिकाकी उपप्रमुख पदम कुमारी बिष्टको प्रमुख आतिथ्यता तथा कचहरीकी अध्यक्ष अनिता बिश्वकर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागि स्थानिय नागरिकहरुलाई मर्यादित महिनावारी तथा बालबिवाहका बिषयमा जानकारी मुलक सास्कृतिक प्रस्तुतीहरु राखिएको थियो । गाउँपालिकाका बिभिन्न स्थानबाट सहभागिता जनाएका बालबालिका, समुदायका नागरिक तथा सरोकारवालाहरुलाई मर्यादित महिनावारी बनाउन र बालबिवाहको न्युनिकरणका लागी अझ बढि जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कचहरीकि सदस्य सिता नेपालीले बताईन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा गठित कचहरीका सदस्यहरुले यसअघि पनी बिभिन्न नमुना कामहरु गरेका छन् । प्याडको निर्माण गरि प्रयोग गर्न सिकाउने, बालबिवाहका बारेमा कानुन प्रावधानहरु थाहा नपाएका मानिसहरुलाई जानकारी गराउने लगायतका क्रियाकलापहरुलाई आफुहरु प्राथामिक्ताका साथ गरिरहेको उनको भनाई छ । ‘हामीले यसअघि पनी बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएका थियौँ, र सास्कृतिक कार्यक्रम मार्फत पनी नागरिकहरुलाई केही बुझाउन सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरेका हौँ ।’ सिता भन्छिन् । उनिहरुले कार्यक्रममा छाउपडि प्रथाको अन्त्य गरेर मर्यादित महिनावारी कसरी हुने भन्ने बिषयमा देउडा गित तथा अन्य कार्यक्रमहरु राखेका थिए । त्यस्तै बालबिवाह र छाउपडिले समाजमा पार्ने नकरात्मक असरका बिषयमा सडक नाटक सहित अन्य सास्कृति कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी तथा भैरवी गाउँपालिकाकी उपप्रमुख पदम कुमारी बिष्टले कचहरीले सञ्चालन गर्दै आएका कार्यक्रममा बारेमा प्रशंसा समेत गरिन् । ‘गठन भएयता यस समुहले गरेका सचेतनामुलक कार्यक्रमका लागी धन्यवाद, समाज परिवर्तन गर्ने भनेको यसरी नै हो ।’ उपप्रमुख बिष्टले भनिन् ‘आगामी दिनहरुमा सामाजिक जागरणका यस्ता क्रियाकलापका लागी मेरो व्यक्तिगत र संस्थागत रुपमा सहयोग रहनेछ ।’

सोही कार्यक्रममा बोल्दै सामाजिक सेवा केन्द्र (सोसेक) का संस्थापक अध्यक्ष हिरासिहं थापाले छाउपडि तथा बालबिवाहले पार्ने असरका बारेमा बालबालिका, सरोकारवाला तथा सबै नागरिकहरु बेलैमा सचेत हुनुपर्नेमा जोड दिएका थिए । ‘बिगतमा हाम्रो कयौँ छोरीचेलीको मृत्यु भएका नमिठा उदाहरण तपाई हामी माझँ छन् ।’ थापाले थपे ‘अझै हामीले छोरी चेलीलाई मृत्युको मुखमा पठाउने कि सुरक्षित राख्ने हामीले नै बेलैमा सोच्नुपर्दछ ।’ उनले युवा कचहरीले सञ्चालन गरिरहेका क्रियाकलापको प्रशंसा गर्दै आगामी दिनमा पनी यसलाई निरन्तरता दिन आग्रह समेत गरे । ‘साझेदार संस्थाका हिसाबले हामी पनी तपाईहरुलाई गर्ने सहयोग गर्न तयार छौँ, आगामी दिनमा अझ यसलाई निरन्तरता दिनुहोला । थापाले भने ‘हाम्रो समाज परिवर्तन गर्ने र समृद्ध भैरवी बनाउने जिम्मेवारी तपाई हामीलाई बाहेक अरुलाई छैन् ।’

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आफ्नो बार्षिकोत्सवका अवसरमा प्रदान गरेको सम्मान् पत्र हस्तान्तरण गर्दै उपप्रमुख बिष्ट

कार्यक्रममा बालबिवाह र मर्यादित महिनावारीका बिषयमा सक्रिय भएर सामाजिक जागरणका क्रियाकलाप गरेको भन्दै सोसेकले आफ्नो बार्षिक उत्सवमा गरेको सम्मान् समेत कचहरीकी सदस्य सिता नेपालीलाई हस्तान्तरण गरिएको थियो । एआईएन लक्जेवर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सो क्षेत्रमा महिला युवा तथा बालअधिकार प्रवद्र्धन –आधार) परियोजना सञ्चालन गरिरहेको छ । सो परियोजना मार्फत आफुहरुले मानिसहरुलाई आत्मनिर्भर बनाउने र सामाजिक कुरितीहरुको अन्त्य गर्नका लागी काम गरिरहेको आधार परियोजना संयोजक तथा सोसेककी कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिईन् ।

प्रतिक्रिया