राउटेद्धारा उत्पादित हस्तकलाका सामग्री भक्तपुरमा प्रर्दशन

राउटेद्धारा उत्पादित हस्तकलाका  सामग्री भक्तपुरमा प्रर्दशन

भक्तपुर असोज १० ।
लोपोन्मूख घुमन्ते राउटे समुदायले बनाएका काठका सामाग्री भक्तपुरमा प्रर्दशन गरिएको छ । ४० औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विश्वसम्पदामा सूचिकृत न्यातपोल (पाँचतले मन्दिर) परिसरमा राउटे समुदायले बनाएको हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको हो ।  सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र मानविय आस्था नेपालको संयुक्त आयोजना, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, गुराँस गाउँपालिका दैलेख र एईआएन लक्जेम्बर्गको सहयोग तथा समन्वयमा सामग्री विक्री तथा प्रर्दशनमा राखिएको हो ।

लोपोन्मुख घुमन्ते राउटे समुदायद्धारा उत्पादित हस्तकलाका सामग्री प्रर्दशन कार्यक्रमको सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेत, एईआएन लक्जेम्बर्गका नेपाल संयोजक रमेश त्वाएना, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा र राउटे प्रतिनीधिहरुले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले राउटे समुदायको सरसफाई, स्वास्थ्य र जीविकोपार्जनमा सुधारको क्षेत्रमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरेको कार्य प्रशंसनीय रहेको बताए ।

राउटेले प्रर्दशनीमा राखिएको सामाग्री खरिद गर्दै सांसद महेश बस्नेलते राउटे समुदायलाई समाजमा घुलमिल गराउनका लागि उनीहरू बनाएको सामाग्री प्रर्दशनीमा राख्ने व्यवस्था मिलाइएको बताए । उनले अब राउटे समुदाय वन जङ्गलमा मात्र नभइ नेपाली समाजमा घुलमिल भई आर्थिक र सामाजिक रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले समुदायको स्वास्थ्य, शिक्षा र शसक्तिकरणका लागि समुदायमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको बताए । उनले समुदायका नागरिकको स्वास्थ्य उपचारका लागि अहेव र शिक्षाका लागि जोडी शिक्षकको व्यवस्था गरेको बताए । सामग्री विक्री तथा प्रर्दशनका लागि राउटे युवाहरु प्रकाश शाही, शिवराज शाही, दिपक शाही, कलम शाही त्यहाँ पुगेका छन् । प्रर्दशनमा राखिएका सामग्रीको अवलोकलन गर्नेको भिड नै लागेको बताइएको छ ।

घरयासी प्रयोगमा आउने काठबाट निर्मित सानो गोलो पिर्का, बिर्को भएको कोशि (हटकेश), सानो मधुस (कन्तुर), बाकस, रोटी बेल्ने चकला, डाडु, पन्यु लगायतका सामाग्री प्रर्दशनीमा राखिएका छन् । प्रति सामग्रीको मूल्य ८ सयदेखि ४ हजार रूपैयाँसम्म निर्धारण गरिएको छ । उक्त सामानमा फलामको किला प्रयोग गरिएको छैन ।

प्रतिक्रिया