विवादकै बिच सपथ ग्रहण कार्यक्रम

विवादकै बिच सपथ ग्रहण कार्यक्रम

दैलेख – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया पूर्णताको निम्ति जिल्ला नेतृत्वको आंशिक पदाधिकारीको सहमतिमा १७ वटा कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुको आज दैलेखमा पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ ।

दैलेखका दुई संघीय निर्वाचन क्षेत्र, ४ प्रदेशसभा क्षेत्र, ४ नगरपालिका र ७ गाउँपालिका समेत १७ वटा कमिटीका ती पदाधिकारीको नाम घोषणासंगै पद तथा गोपनीयता सपथ गराइएको हो । सहमती नजुटेकै कारण ४४ मध्ये ३४ जना मात्र सपथ ग्रहण कार्यक्रममा सहभागी थिए ।

यी १७ तहका कमिटीको अलवा जिल्लाका ११ वटै स्थानीय तहका ९० वटा वडामा पनि यी पदमा पूर्व एमाले र पूर्व एमाओवादीलाई समान सन्तुलनका आधारमा इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुको आधा–आधा पदको जिम्मेवारी तोकिएको भन्दै नामावली घोषणा गरिएको छ ।

नयाँ जिम्मेवारी दिइएका ४४ जना मध्ये कलावती न्यौपानेलाई डुंगेश्वर गाउँपालिको इञ्चार्ज, निर्वाचन क्षेत्र १ को प्रदेश‘क’मा पदमा शाही र नारायण नगरपालिकामा तप्ता थापालाई सहइञ्चार्ज बाहेक महिलालाई स्थान दिइएको छैन ।

जनजातिमा निर्वाचन क्षेत्र १ को प्रदेश‘ख’को इञ्चार्ज लिलाराम रामजाली, नौमूले गाउँपालिकाको इञ्चार्ज भीमबहादुर गुरुङ्ग, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा रंगबहादुर तारामी र महाबु गाउँपालिकाको सहइञ्चार्जमा जङ्गबहादुर बराल अनि दलित तर्फ भैरबी गाउँकमिटी अध्यक्ष हिक्मत बिक र नौमूले गाउँकमिटीको सचिव पदमा शशीराम बिकलाई मात्र समेटिएको छ ।

ठूलो संगठनमा अहिले नै सबैको चित्त बुझाउन नसकिने तर पार्टी संगठनमा योगदानका हिसावले त्यागी कार्यकर्तालाई समेट्दै लगिने पार्टी जिल्ला अध्यक्ष रबिन्द्रराज शर्माले बताए । पार्टी सचिव प्रेमबहादुर कटुवालले पार्टी केन्द्रीय सदस्य, केही प्रदेश कमिटी सदस्यहरु इच्छुकहरुलाई मात्र बोलाइएकोले जिल्लाभित्र भएर पनि सबैलाई उपस्थित गराउन नसकिएको टिप्पणी गरे ।

विहान एघार बजेलाई तोकिएको कार्यक्रम दुई घण्टा ढिला सुरु भइसकेपछि असहमत पक्षले रोक्न पार्टी जिल्ला अध्यक्ष रबिन्द्रराज शर्मालाई वार्ताका लागि बोलाए पनि ७ मीनेट बाहिर गएर बैठक सुचारु गरेका थिए ।

नेकपाका कर्णाली कमिटीका सदस्यहरु कर्णबहादुर बस्नेत, सूर्यबहादुर शाही, जिल्ला कमिटीका सदस्य प्रेमबहाुदर थापा र गणेश सलामी मगरले एकता प्रक्रिया जटिल भएकोले सबैलाई सन्तुष्ट गराउन नसकेको भन्दै असहमत पक्षको भावनाको कदर गर्नुपर्ने सुझाव राखेका थिए ।

स्थानीय तहका पदाधिकारी जिम्मेवारी दिंदा जिल्ला कमिटी सदस्यहरु मध्येबाट ल्याउने केन्द्रीय मापदण्ड विपरित केहीलाई जिम्मेवारी दिइएको भन्दै असन्तुष्ट पक्षकै दवावमा जिल्लाभित्रै भएर पनि दुई जना केन्द्रीय सदस्य र दर्जन भन्दा बढी प्रदेश कमिटी सदस्यहरु सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् ।

दुई महिना अघि जिल्ला कमिटीको बिस्तारमा सर्वसम्मती हुन नसकेको र जिल्ला कमिटी सदस्यमा ल्याउने मापदण्ड नपुगेका भनी रोकिएका ७ जना मध्येहरुलाई पनि अहिलेको १७ वटा कमिटीका स्थानीय तहका कमिटीको अध्यक्ष र सचिवमा ल्याइएको विमति छ ।

भदौमा भएको जिल्ला कमिटीका पदाधिकारी घोषणामा पार्टी अध्यक्ष रबिन्द्रराज शर्माले स्वच्छिक रुपमा नामावली तयार पारेको भन्दै माधव नेपाल समूहका नेताहरुको पक्षमा पूर्व एमाओवादीका कही नेताहरु समेत थपिएका छन् ।

दैलेख क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका जिल्ला अध्यक्ष रबिन्द्रराज शर्मा केपी ओली समूहका भए पनि उहाँको कार्यशैली प्रति त्यो समूह पनि असन्तुष्टी छ । ठूलो पार्टी संगठन भएको र सबैले आआफ्नो स्वार्थमा प्रस्ताव ल्याउने गरेको कारण सबैलाई सहमत गराउन नसकिएको अध्यक्ष शर्माको टिप्पणी छ ।

प्रतिक्रिया