उपराष्ट्रपति पुनसँग बंगलादेशका राष्ट्रपतिको भेट : बंगलादेश भ्रमणको निम्तो

उपराष्ट्रपति पुनसँग बंगलादेशका राष्ट्रपतिको भेट : बंगलादेश भ्रमणको निम्तो

काठमाडौं २७ कार्तिक : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शिष्टाचार भेट गरेका छन्। नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिदसँग उपराष्ट्रपति पुनले बुधबार दिउँसो शिष्टाचार भेट गरेका हुन्। नागपोखरीस्थित होटेल मेरियटमा करिब आधा घण्टा भएको भेटमा दुईपक्षीय आपसी सम्बन्ध, सहयोग र सहकार्यका विविध आयममा छलफल भएका छन्। 

भेटमा बंगलादेशका राष्ट्रपति हमिदले नेपालको भ्रमण गर्न पाउँदा हर्षित रहेको बताएका छन्। सन् २०७१ मा बंगलादेश स्वतन्त्र भएपछि बंगलादेशलाई राष्ट्रको मान्यता दिने नेपाल सातौँ राष्ट्र भएको स्मरण गर्नुहुँदै उनले नेपाललाई धन्यवाद दिए। 

हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपालको राष्ट्रिय आकांक्षामा बंगलादेशको सधै साथ, सहयोग र सहकार्य हुने बताएका छन्। राष्ट्रपति हमिदले नेपालको जलविद्युत क्षेत्रबाट बंगलादेशले पनि लाभ लिन खोजिरहेको बताए। उनले नेपालका थुप्रै विद्यार्थीले बंगलादेशम मेडिकल शिक्षा अध्ययन गरिरहेको बताउँदै बंगलादेशले छात्रावृत्ति प्रदान गर्दै आइरहेको स्मरण गरे।

राष्ट्रपति हमिदले उपराष्ट्रपति पुनलाई बंगलादेश भ्रमणको लागि निमन्त्रणासमेत दिएका छन्। उनले बंगलादेशले नेपालसँग रेलवे, सडक, हवाई र जलमार्गमार्फत सञ्जाल विस्तार गर्न चाहिरहेको बताए।

राष्ट्रपति हमिदको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने अपेक्षा गर्दै उपराष्ट्रपति पुनले सन् १९७१ मा बंगलादेशलाई राष्ट्रको मान्यता दिने नेपाल सातौँ राष्ट्र भएको स्मरण गरे।

उपराष्ट्रपति पुनले भौगोलिक रुपमा निकट रहेका दुई मुलुक संस्कृति, परम्परा तथा मूल्यहरुमा समेत समानता रहेको बताए। बंगलादेशको राष्ट्रपतिले गरेको भ्रमणको निमन्त्रणालाई स्वीकार गर्दै उपराष्ट्रपति पुनले उपर्युक्त समयमा भ्रमण गर्ने बताएका छन्।  भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायत सहभागी थिए।   स्राेत annapurnapost

प्रतिक्रिया