लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

दैलेख मंसिर ९ गते । ‘समानताको पुस्ता : बलात्कार विरुद्ध ऐक्यबद्वता’ भन्ने नाराका साथ दैलेखमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । समाजमा जागरण ल्याउने उद्धेश्यले सोमवारदेखि १६ दिनसम्म जिल्लाभरी विशेष अभियान सञ्चालन गरिने बताइएको छ । नारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा आज (सोमवार) विहान प्रभातफेरी समेत गरिएको छ । अभियानमा सामाजिक सेवा केन्द्र (सोसेक), समुदायमा आधारित संस्था महासंघ, एभरेष्ट क्लब, सुन्दर नेपाल संस्था र महिला सशक्तिकरण मञ्च दैलेख लगाएत संघ संस्थाहरुले समन्वय गरेका छन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सरकारी तथा गैसरसरकारी संस्थाहरुसमेतको सहभागितामा दैलेख सदरमुकाममा प्रभातपेरी गरिएको हो । गणेशचोकबाट सुरु भएको प्रभातफेरी डेकेन्द्रचोक, लोकतान्त्रीक चोक हुँदै पुन देवकोटा चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले अभियान शुभारम्भ भएको घोषणा गरे । अभियानका क्रममा १६ दिनसम्म विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख खड्काले बताए । अभियानको पहिलो दिन यहाँका सरोकारवालाहरुले महिला हिंसा विरुद्ध हस्ताक्षर गरि प्रतिबद्धता समेत जनाएका छन् ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । हिंसामा परेका महिलालाई नजिकैको प्रहरी, स्थानीय तह वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियान मार्फत आह्वान गरिएको छ ।
सन १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

प्रतिक्रिया