प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बिहीबार दिउँसो ४ बजे अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा उनको अवस्था सामान्य रहेको जानकारी दिइएको हो । बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई तरल र नरम ठोस पदार्थ पनि खान दिइएको अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्‌गाले बताए।

डा. खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका सम्पूर्ण रिपोर्टहरु सामान्य रहेको बताए। यस्तै प्रत्यारोपित मिर्गौलाले काम गरिरहेको पनि उनले जानकारी दिए। धानमन्त्री ओलीको साढे चार घण्टा लामो शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल सहभागी थिए। भारतका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्रा.डा. अनन्त कुमार पनि टोलीमा सामेल थिए। मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए। ओलीलाई भान्जीले मिर्गौला दान गरेकी हुन्।

पछिल्लो पटक मिर्गौलाको समस्या आएयता करिब आठ महिनादेखि प्रधानमन्त्री ओली विभिन्न परीक्षणसँगै उपचार प्रक्रियामा थिए। करिब तीन महिनाअघि उनको प्रत्यारोपण गर्ने तयारी भइरहँदा एक्कासि एपेन्डिसाइटिसको संक्रमण देखिएपछि प्रक्रिया स्थगित गरिएको थियो। त्यसताका एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

प्रतिक्रिया