घटेन मानव अधिकार उल्लंघन

घटेन मानव अधिकार उल्लंघन

दैलेख : जिल्लामा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको पाईएको छ । बर्षेनी विभिन्न घटनाबाट पीडित हुनेहरुको संख्या बढ्दो छ । गृह मन्त्रालयद्वारा दैलेखमा आयोजित मानव अधिकार प्रवद्र्वन सम्बन्धि अन्तरक्रियामा प्रस्तुत कार्यपत्रमा मानव अधिकारका घटना बृद्धि भएको पाईएको हो । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष खड्गबहादुर सिजापतीद्वारा प्रस्तुत कार्यपत्रमा उल्लेख भएअनुसार जिल्लामा सन २०१७ मा ३८, सन २०१८ मा ५८ र सन १०१९ मा ६९ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना घटेका छन् ।
इन्सेकको तथ्यांकमा आधारित कार्यपत्रमा बर्षेनी मानव अधिकार उल्लंघनका घटनाहरु बढ्दो रहेको सिजापतीले उल्लेख गरे । मानव अधिकार प्रवद्र्वन तथा संरक्षणका लागि नागरिकका हक अधिकार प्रत्याभुत गराउन सरकारका संयन्त्र तत्पर हुनुपर्ने उनको सुझाव छ । दोस्रो कार्यपत्र प्रस्तुत गर्दै जिल्ला न्यायधिवक्ता द्रोणदत्त पौडेलले जिल्लामा मानव अधिकार संरक्षणका लागि जिल्लाका सरकारी निकायहरुले गरिरहेको पहलबारे जानकारी गराएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन् हुन नदिने हो भने मानव अधिकार उल्लंघनका घटनामा कमी आउने औल्याए । गृह मन्त्रालयका सह–सचिव पुष्कर सापकोटाले मानव अधिकार प्रवद्र्वन तथा संरक्षणका लागि सबै सचेत हुनुपर्ने बताउँदै जिल्लामा रिक्त प्रहरी दरबन्दी परिपुर्ती गर्न पहल गर्ने जनाए । उनले संविधानले व्यवस्था गरेका मौलिक हकलाई पुरा गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरे ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले संविधानमा उल्लेख भएका मौलिक हक मानव अधिकार भएको बताउँदै न्याय सम्पादनका क्रममा अदालतमा कहि कतैबाट दवाव नआएको उल्लेख गरे । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले नागरिकहरुले आफ्नो कतव्र्य पालना गर्नुपर्नेमा जोड दिँदै मौलिक हक कार्यान्वयनमा स्थानीय तह प्रतिबद्ध रहेको बताए । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मानव अधिकार उल्लंघनका घटनामा संलग्न दोषिलाई कानुनी कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए ।
सोहि अबसरमा मानव अधिकारकर्मी दिर्घराज अधिकारीले बाल विवाह, बहुविवाह, बलात्कार, तथा हिंसाका घटना बृद्धि भएको बताए । स्थानीय तहका जनप्रतिनीधिबीचको आपसी द्धन्द्धका कारण नागरिकहरुले मानव अधिकारको प्रत्याभुत गर्न नसकेको बताए । अधिकारकर्मी रमा श्रेष्ठले बाल विवाह भईरहेको जनप्रतिनीधिलाई जानकारी गराउँदा वेवास्ता हुने गरेको बताइन् ।
पत्रकार विशाल सुनारले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीत पक्राउ परेपनि अन्य तीन जनालाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गरे । गृहमन्त्रालयले छाउगोठ भत्काउने अभियान थालनी गरेर छाउगोठ भत्काएपनि अहिले महिनावारीको समयमा महिलाहरु गोठ, बारीमा टहरो हालेर बस्न थालेको भरतराज अधिकारीले बताए । उनले जिल्लाका अधिकाँश बालबालिका विद्यालयको पहुँच बाहिर रहेको उल्लेख गरे ।

प्रतिक्रिया