कोरोना भाइरसको संक्रमणबाट विश्वभर १३ हजार ४ सय ७ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विश्वभर १३ हजार ४ सय ७ जनाको मृत्यु

काठमाडौं : महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट आइतबार अपरान्हसम्म  विश्वभर १३ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । जोन हप्किन्स जि स्याण्ड डाटाले  सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ११ हजार ९ सय ८८ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । 

संक्रमित व्यक्तिमध्ये ९३ हजार ७ सय ९० जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । 

हाल कोरोनाभाइरसका कारण अत्यन्त भयावह अवस्थाको सामना गरिरहेको इटालीमा चार हजार ८२५ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । इटालीमा ६ हजार ७२ व्यक्ति उपचारपछि घर फर्किएका छन् । 

इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले अत्यावश्यक बाहेकका सबै कार्यालय र कलकारखाना बन्द गर्न आदेश दिएका छन् । करिब ६ करोड जनसंख्या रहेको इटालीमा कोरोनाभाइरसका कारण अहिले युरोपमै सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

कोरोनाभाइरस संक्रमणबाट चीनमा ३ हजार १४४ जनाको मृत्यु भएको छ भने ८१ हजार ३९४ जना संक्रमित छन् । तर चीनमा ५९ हजार ४३३ जना निको भएका छन् ।

चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी वुहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।  

मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोनाभाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । कोरोनाको कारण १ हजार ५५६ व्यक्तिको मृत्यु भइसकेको छ भने २० हजार ६१० जना संक्रमित रहेका छन् । ७ हजार ६३५ जना उपचारपछि घर फर्किएका बताइएको छ । 

स्पेनमा कोरोनाभाइरसको संक्रमणका कारण १ हजार ७२० जनाको मृत्यु भएको छ । हाल २८ हजार ५७२ जना संक्रमित रहेका छन् । जर्मनीमा ९३ जनाको मृत्यु भएको छ भने २३ हजार १२९ संक्रमित रहेका छन् । 
 
हाल अमेरिकामा कोरोनाबाट ३ सय बढीको मृत्यु र २६ हजार ७४७ भाइरस संक्रमित रहेका छन् ।  फ्रान्समा ५६२ जनाको मृत्यु भएको छ । हाल १४ हजार ४८५ व्यक्ति संक्रमित छन् । 

यस्तै दक्षिण कोरियामा १०४ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ८९७ संक्रमित भएका छन् । 

कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ८० जना, बेलायतमा २३३ जना, नेदरल्याण्ड्समा १३६ जना, बेल्जियममा ६७ जना र जापानमा ३६ जनाको मृत्यु भएको छ । 

भारतमा हालसम्म कम्तीमा ३३२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । छ जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कर्फ्यु लागू गर्न र घरबाहिर ननिस्कन आह्वान गरेको छ ।

विश्वका ३५ देशमा महामारी रोकथामका लागि भन्दै “लकडाउन” घोषणा गरिएको छ । उद्योग, व्यापार व्यवसाय र यात्राका कार्यक्रमहरु रोकिएका छन् भने धेरै मुलुकले आफ्ना सीमा बन्द गरेका छन् । 
इटालीमा कोरोना भाइरसको महामारी डरलाग्दो रुपमा फैलिरहँदा मेडिकल सहयोगका लागि रुसले आफ्ना सेना पठाउने भएको छ।

यही आइतबार रुसले सैन्य मेडिकल टोली इटाली पठाउने तयारी गरेको हो । भ्लादिमिर पुटिनले यसअघि नै सहायता पठाउने बारे इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेसँग कुराकानी गरिसकेका छन् ।कोरानाभाइरसको त्रासका कारण अर्थव्यवस्थामा परेको असर कम गर्न सरकारहरुले अर्बौं डलरका आर्थिक राहतका कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया