राउटे बस्तीमा प्रवेश निषेध

राउटे बस्तीमा प्रवेश निषेध

सुर्खेत : कोरोना संक्रमण रोक्नका लागि भेरीगंगा नगरपालिकाले जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायको बस्ती ‘लकडाउन’ गरेको छ। राउटे समुदाय हाल भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोला किनारमा बस्दै आएको छ। ‘संभावित कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र बाह्य समुदायका व्यक्तिलाई राउटे बस्तीमा प्रवेश नदिने निर्णय गरेका छौं,’ मेयर भुपेन्द्रबहादुर चन्दले भने, ‘बस्ती अनुगमनका लागि इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मेवारी दिएका छौं।’ नगरपालिकाले राउटे समुदायका मानिसहरुलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको छ।
वर्षमा एक पटक मात्रै नुहाउने, खुल्ला दिसा–पिसाव गर्ने, सरसफाईमा ध्यानै नदिने यो समुदाय कोरोनाको उच्च जोखिममा छ। ‘राउटे समुदायमा कोरोना संक्रमण भए अन्य समुदायमा त्यसको असर तत्कालै फैलिने देखिएको छ,’ उनले भने, ‘त्यसैले सरसफाईसँगै बाह्य व्यक्तिहरुलाई बस्ती प्रवेशमा रोक लगाएका छौं।’
काठका भाँडावर्तन बनाउने राउटे समुदाय दैनिक गुजाराका लागि व्यक्तिका घर–घरमा पुग्ने गर्छन्। विरामी हुँदा उनीहरु औषधि–उपचार गर्दैनन्। नगरपालिकाले एक महिनाका लागि खाद्यान्नको जोहो गरिदिन प्रदेश सरकारलाई अनुरोध गरेको छ। ‘एक महिनाका लागि पुग्ने खाद्यान्न दिए बस्तीबाट बाहिर नजाने राउटे समुदायले बताएका छन्,’ मेयर चन्दले भने, ‘नगरपालिका एक्लैले सहयोग गर्न नसक्ने भएकाले प्रदेश सरकारसँग खाद्यान्न उपलब्ध गराइदिन अनुरोध गरेका छौं।’ राउटे समुदायमा एक सय ५० जना सदस्य छन्।
सरकारले २५ जना भन्दाबढी एकै ठाउँमा भेला नहुन निर्देशन दिएको छ। यो समुदायका सबै सदस्यहरु एउटै ठाउँमा भेला भएर बस्छन्। उपमेयर रेणु आचार्यले बस्तीमा नियमित हात धुनका लागि ट्याङ्कीसहित पानीको व्यवस्था गर्नुका साथै प्रत्येक सदस्यहरुलाई साबुन वितरण गरिएको बताइन्। उनले राउटे समुदाय खुल्ला ठाउँमा दिसा–पिसाव गर्ने भएकाले त्यसलाई रोक्नु प्रमुख चुनौती रहेको बताइन्।
‘फिरन्ते जाती भएकाले उनीहरु पालमुनि बस्छन्, शौचालय प्रयोग गर्दैनन्,’ उनले भनिन्, ‘यस्तोमा शौचालय प्रयोग गर्न र हात धुन सिकाउनु नै हाम्रा लागि चुनौतीपूर्ण छ।’ उनले मंगलबारदेखि राउटे बस्तीमा अस्थायी शौचालय बनाइने बताइन्। ‘राउटे समुदायको बस्ती सरसफाई, उनीहरुलाई हात धुने बानीको विकास गर्न र बस्तीमा प्रवेश बन्द गर्नका लागि स्वास्थ्यकर्मी र प्रहरी परिचालन गर्दैछौं,’ उनले भनिन्।

प्रतिक्रिया