दैलेखमा कोरोना कहर : मास्कको सट्टा सालको पात !

दैलेखमा कोरोना कहर : मास्कको सट्टा सालको पात !

दैलेख : शुक्रवार साँझ ७ बजे तिर दैलेखमा सञ्चालित बाल हेल्पलाइन १०९८ मा एक्कासी फोनको घण्टी बज्यो । हेल्पलाइनमा खटिएका कर्मचारीहरुले हत्तपत्त फोन उठाए । एक जना १० बर्षीया बालिका अलपत्र परेको खबर आयो । दैलेखको पञ्चकोशी तिर्थस्थल अन्र्तगत श्रीस्थान क्षेत्रमा अलपत्र परेकी ती बालिकालाई जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा राती नै उद्धार भयो । अलपत्र अवस्थामा फेला परेकी बालिकालाई बाल हेल्पलाइनको संरक्षणमा राखेर अभिभावकको खोजी सुरु भयो । शनिवार विहान मात्रै बालिकाका अभिभावक सम्पर्कमा आए । महाबु गाउँपालिका वडा नं. ३ घर भएकी बालिकाका अभिभावकहरुलाई बाल हेल्पलाइनको कार्यालयमा बोलाएर जिम्मा लगाईसकेको हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् ।
बालिकालाई लिन आउने आफन्त मध्येकी एक थिइन्, जुना नेपाली । उनले सालको पातले मुख छोपिरहेकी थिइन् । कोरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट बच्न उनले मास्कको सट्टा सालको पातले मुख छोपेको बताइन् । ‘बजारमा मास्क पाईएन, वनमा पाइने सालको पातलाई मास्कको रुपमा प्रयोग गरेको हुँ, उनले भनिन् । बालिकालाई लैजानका लागि बाल हेल्पलाइन १०९८, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखमा आएकी जुना सहित अन्य पाँच जना बालिकाका आफन्तलाई मास्क दिएर पठाईएको हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् । संस्थाले मास्क उत्पादन गरिरहेको छ । हालसम्म दुई हजार मास्क उत्पादन गरेर वितरण गरेको उनले बताइन् ।
नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि आम नागरिक त्रसित बनेका छन् । भारत लगाएत अन्य मुलकबाट धमाधम गाउँ पर्किएपछि भाइरसको जोखिम गाउँमा बढेको छ । संक्रमणबाट जोखिन ग्रामिण भेगका नागरिकहरु मास्कको सट्टा सालको पात, गलबन्दी, रुमाल मुख छोप्न प्रयोग गरिरहेको छन् ।

प्रतिक्रिया