पहिलो पटक नेपालभित्रै कोरोना सरेको पुष्टि : संक्रमितको संख्या ९ पुग्यो

पहिलो पटक नेपालभित्रै कोरोना सरेको पुष्टि : संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं : पहिलो पटक नेपाल भित्रै कोरोना संक्रमण सरेको पुष्टि भएको छ। यसअघि विदेशबाट नेपाल आएका व्यक्तिमा मात्र कोरोना पुष्टि भएको थियो। शनिबार नेपालभित्रै कोरोना सरेको पुष्टि भएको हो। दुवईबाट भारत हुँदै नेपाल फर्किएका कैलाली धनगढीका ३४ वर्षीय पुरुष कोरोना आशंकामा चैत ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना भएका थिए। उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। शनिबार उनकै परिवारकी आफन्त ३४ वर्षकै महिलामा कोरोना सरेको पुष्टि भएको हो। 

शनिबार मात्र सेती प्रादेशिक अस्पतालमा तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेजमार्फत् जानकारी गराएको छ।  मन्त्रालयले भनेको छ, ‘योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।’  पहिलो पटक नेपालमै सरेकी ३४ वर्षीया महिला, मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र भारतकै उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा शनिबार सेती प्रादेशिक अस्पतालमा कोरोना पुष्टि भएको हो। शनिबार तीनजनामा कोरोना पुष्टि भएसँगै नेपालमा  संक्रमितको संख्या ९ पुगेको छ। चार जनाको  धनगढीको सेती प्रादेशिक अस्पताल, दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु र दुई जनाको बागलुङमा उपचार भइराखेको छ। पहिलो पटक संक्रमण पुष्टि भएका एकजना भने निको भएर डिस्चार्ज भएको छ । 

प्रतिक्रिया