कोरोनाले ब्युँताएका केही सकारात्मक पक्षहरु

          |   प्रकाशित मितिः सोमवार, बैशाख १, २०७७     ::: 254 पटक पढिएको   |  

दिनेश दाहाल।

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी प्रभाव र यसले निम्त्याएको भयावह वर्तमानका बारेमा हामी सबैलाई अवगत नै छ। यस विषम् परिस्थितिमा आफ्नो ज्यानको जोखिम मोलेर निरन्तर आम नागरिकको सेवा र सुरक्षामा खटिएका सम्पूर्ण स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा लक डाउनको इमानदारीपूर्ण पालना गरी यस माहामारी विरुद्धको अभियानमा साथ दिने आम नागरिक धन्यवादका पात्र हुन्।

विश्वका विकसित राष्ट्रहरुलाई आच्छु आच्छु बनाएको वर्तमान परिपेक्ष र विश्व स्वास्थ संगठनले उच्च जोखिमयुक्त ठहर्‍याएको हाम्रो देशले अनुसरण गरेका अहिलेसम्का उपायहरु सन्तोषजनक नै भन्नु पर्छ। तर अहिले नै सबै ठीक भैसकेको छ भन्नु भने मुर्खता नै हुने छ।

कोरोनाको माहमारीले विश्वभर हालसम्म गरेको असर र आउँदा दिनमा अपेक्षित असरले संभवत धेरै ठूलो क्षति निम्त्याउने आँकलन हामी सहजै गर्न सक्छौं। यस विषम् परिस्थितिमा विभिन्न नकारात्मक प्रतिफल हाबी हुनेछन् र यसमा कुनै दुई मत नहोला। तर आज हामी कोरोना माहमारीले नेपाललाई दिएका केही सकारात्मक पक्षहरु केलाउने प्रयास गर्ने छौं।

सामाजिक पक्ष

हाम्रो समाज प्राचीनकालदेखि नै आपसी मेलमिलाप र सौहार्दपूर्ण व्यवहारले चल्दै आएको हो। सुखदुखमा एकअर्कालाई साथ दिने अनि सामाजिक कुरीतिसँग मिलेर सामना गर्ने हाम्रो युगौँ युगदेखि बसेको रीति हो। केही अपवाद छोड्ने हो भने यस्ता अनगिन्ती अवस्थाहरु छन्, जसले आफ्नो सामाजिक भूमिका निर्वाह गर्ने कुरामा नेपालीलाई एकजुट बनाएका छन्।

चाहे ७२ सालको विनाशकारी भुकम्पका दौरान देखिएको स्वयंसेवी भाव र त्यसपश्चात पुनर्निर्माणमा देखिएको उर्जाशील योगदानहरु हुन्, चाहे मित्र राष्ट्र भारतद्वारा लादिएको अघोषित नाकाबन्दीको डटेर गरेको सामना होस्। नेपालीहरुको सहनशीलता र सहयोगी मनोभावनाले निकै ठूलो भूमिका खेलेको हो।

ठीक यसरीनै अहिलेको अवस्थामा लकडाउनको पालना गरी राज्यलाई, समाजलाई र स्वयंम आफूलाई सुरक्षित राख्ने प्रयत्नले हामीलाई सामाजिक सुध्रिणिकरणमा ठूलो टेवा पुगेको छ।

यसरी सामाजिक व्यवहारमा सुधार आउने र सहयोगको भावना विपदको अवस्थामा मात्र नभई सामान्य अवस्थामा पनि राख्ने हो भने वास्तवमै हाम्रो नेपाली समाज सुखी हुने बाटोमा अग्रसर रहने निश्चित छ। सुख कुनै भौतिकवादी चिन्तनले होइन, सेवा र सेवामुखी भावनाले दिने आत्मसन्तुष्टिको उपज हो।हाल देखिएको सामाजिक उत्तरदायित्व र सामाजिक सद्भावना हाम्रा आउँदा पुस्ताका लागि अद्भुत र अचुक आचरण बन्न सक्छन।

राजनीतिक पक्ष

नेपालको इतिहास अनेकौं राजनितिक घटनाक्रमले श्रृंगारिएको छ र यिनै घटनाक्रम, नेपाली नागरिकको पटकपटकको बलिदान, त्याग र संघर्षका अनेकौं महान अध्यायका कारण अहिलेको राज्य स्थापित भएको छ। आअफ्ना गौरवशाली इतिहास बोकेका राजनैतिक दलहरुको भिन्नै विचार र दर्शन छन्।

मुलतस् हरेक दलहरुको कुनै मुद्दा वा विषयवस्तु प्रतिको धारणा फरक फरक छन् र यो स्वभाविक पनि हो। राज्यको संचालन कसरी गर्नु पर्छ, राज्यले के कस्ता कुराहरु समेटेर देश र नागरिकलाई चलायमान राख्नु पर्छ भन्ने जस्ता अनेकौं कुराहरुमा राजनीतिक दलहरुको आफ्नै मौलिक अवधारणा छन्। तर अहिलेको विषम् परिस्थितिमा, कोभिड १९ विरुद्धको लडाईमा सबै दल एक ठाउँमा उभिएर सरकारको सकारात्मक कदमलाई साथ दिइरहेका छन्।

अनेकौं सल्लाह सुझाव प्रदान गरी सरकारलाई यस लडाईमा मनोबल उच्च राख्ने कार्य गरेका छन् र निरन्तर होसियार हुने वातावरण समेत सिर्जना गरेका छन, जुन निकै सर्हानिय छ। कोरोनाको महामारीले नेपालम संघीयता सफल हुन्न भन्नेहरुलाई दरिलो थप्पड हानेको छ।

अहिलेको अवस्थामा केवल केन्द्रीकृत शासन व्यवस्था हुन्थ्यो भने कस्तो असर हुन्थ्यो भन्ने विषय अर्को पाटो रहला। तर अहिलेको अवस्थामा कोरोना भाइरसकोको नियन्त्रणमा स्थानीय तहको घर बाहिर निस्कन नदिन र विदेशबाट आएकाको पहिचान गरी विवरण लिने दुई भूमिकामा निर्णायक भएको देखियो।स्थानीय तहको अहिलेको भूमिकाले देशलाइ यस जोखिमबाट बचाउन निकैनै महत्त्वपूर्ण योगदान गर्नेछ र नेपालमा सफल संघीयता कार्यान्वयनको उदाहरण बन्नेछ।

आर्थिक पक्ष

कोरोना महामारीले विश्वभर आर्थिक असर गरिरहेको छ र यसका असरहरु बढने निश्चित छ। नेपालमा पनि अबका केही आर्थिक वर्षहरुमा कोरोनाको ह्याङओभर देखिने छन्। तर योसँगै नेपालको अर्थतन्त्रमा नयाँ आयामहरु थपिने छन्।

वित्तिय संघीयता कार्यान्वयनका लागि स्थानीय तहले अब आत्मनिर्भरताको बाटो समात्नै पर्ने हुन्छ। यसका लागि हरेको स्थानीय तहले उत्पादनमा जोड दिने बाहेक अर्को विकल्प देखिदैन। आफ्नो माटो सुहाउँदो मौलिक वस्तु तथा सेवा उत्पादन गर्ने, यस उत्पादनलाई बजारीकरण गर्ने र यसका निम्ति पूर्वाधार निर्माणमा जोड दिने नै अब हरेक स्थानीय तहको मूल उदेश्य हुन जरुरी छ। र यो सब गर्न नेपालको संविधानले स्थानीय तहलाई पर्याप्त अधिकारले सुसज्जित गरेको छ।

देशले अवलम्बन गरेको सुख र समृद्धिको यात्रामा स्थानीय तहले हजारौं रोजगारी सृजना गरी आफ्नो र आफ्नो परिवारलाई दुई छाक खुवाउन देशमा अवसर नपाई कालापहाडमा हड्डी घोट्न जानेहरु, मरुभूमिमा रगत पसिना बगाउन पुग्नेहरु र देशमा उच्च शिक्षा हासिल गरी आफ्नो बौद्धिकता बेचेर देश बनाउनको साटो विदेशीभूमिमा अवसर खोज्न बाध्य भएका शिक्षित युवा को पलायन रोक्न सक्छ।

यसका लागि हरेक स्थानीय तहले कार्यकर्ता पोस्ने वितरणमूखी कार्यहरु बन्द गरी आफूलाई आर्थिक इकाईको रुपमा स्थापित गर्ने योजनाहरु आफ्नो वार्षिक कार्यक्रममा समावेश गर्दै सुशाषनयुक्त ढंगले कार्वान्वयन गर्ने क्षमता बनाउन सक्नु पर्छ।

लेखक दैलेखको गुँरास गाउँपालिकाका लेखा अधिकृत हुन्।



Leave a comment

Your email address will not be published.


*