काठमाडौंमा अलपत्र परेका नागरिकको उद्दार

काठमाडौंमा अलपत्र परेका नागरिकको उद्दार

दैलेख वैशाख ११ गते । काठमाडौंमा अलपत्र परेका दैलेखका नागरिकको उद्दार गरिएको छ । घर जान नपाएर काठमाडौंमा अलपत्र परेका दैलेखका विभिन्न स्थानीय तहका झण्डै तीन सय ६० जनालाई दैलेख पठाइएको प्रतिनीधि सभाका सांसद पार्वतीकुमारी बिशुन्केले जानकारी दिइन् । उनीहरूलाई बुधबार राती दैलेख पठाइएको हो । प्रतिनीधि सभाका सांसद पार्वती कुमारी बिशुन्के, रबिन्द्रराज शर्मा, प्रदेश सांसद तथा काठमाडौंमा रहेका दैलेखी युवाहरूको पहलमा ८ वटा बसमा अलपत्र परेका नागरिकलाई जिल्ला पठाइएको हो । 

मुटु, मृगौला, नसा रोगको औषधी उपचारका लागि काठमाडौं आइ अलपत्र परेका, सुत्केरी, खर्च अभाव भएका विद्यार्थी, बालबालिका र जेष्ठ नागरिकलाई उद्दार गरी दैलेख पठाइएको सांसद बिशुन्केले जानकारी दिइन् । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत्र ११ गतेदेखि गरेको लकडाउनका कारण काठमाडौंमा खान बस्न समस्या हुन थालेपछि ती नागरिकलाई गाडीको व्यवस्था गरेर जिल्ला पठाइएको हो ।

जिल्लाको नारायण नगरपालिकाका नागरिकका लागि दुई वटा, महाबु गाउँपालिकाका लागि दुई वटा, चामुण्डा बिन्द्रासैनी नगरपालिकाका लागि एक, भैरबी गाउँपालिकाका लागि एक वटा र ठाटीकाँध गाउँपालिकाका लागि दुई वटा बस रिर्जभ गरेर नागरिहरुलाई दैलेख पठाईएको सांसद बिशुन्केले जानकारी दिइन् । नागरिकहरुलाई ल्याउन लागेको यातायात खर्च स्थानीय तहले नै ब्यहोर्ने भएका छन् । स्थानीय तहले काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्दार गर्न लागेको खर्च ब्यहोर्ने भएका हुन् ।  

उद्दार गरेर पठाइएका नागरिकलाई कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबई, दैलेखको गुराँसेमा चेकजाँच गरिनेछ । उनीहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । उनीहरु दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा स्थित गैरीमा लायन्स क्लब अफ दैलेखले खानपीनको व्यवस्थापन गरेको क्लबका कोषाध्यक्ष अभिशेक अनुरागले बताए । क्लबले विभिन्न निकायहरुसँग समन्वय गरी अलपत्र परेका नागरिकलाई खानपीनको व्यवस्था गर्दै आएको छ । यता जिल्ला प्रशासन कार्यालय दैलेखले स्थानीय तहको समन्वयमा विभिन्न जिल्लामा अलपत्र परेका मजदुर तथा अलपत्र नागरिकहरुको उद्दार गरिरहेको छ । 

प्रतिक्रिया