कोरोनाबाट बच्न बालबालिकाले बनाए घरमै आचारसंहिता

कोरोनाबाट बच्न बालबालिकाले बनाए घरमै आचारसंहिता

आचारसंहिता बनाएर अभिभावकलाई सिकाउँदै बालबालिका ।

हिक्मतबहादुर नेपाली
दैलेख वैशाख १७ गते ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालमा गत चैत्र ११ गते देखि लकडाउन जारी छ । सरकारले रुघाखोकी र ज्वरो आएका तथा विदेशबाट फर्किएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । घरमै क्वारेन्टाइनमा रहँदा हावा ओहोर–दोहोर हुने छुट्टै कोठामा बस्न, मास्क लगाउन, बैठक तथा जमघट, भिडभाडमा नजान, साबुन पानीले नियमित हातधुन, मानिससँगको दूरी कम्तीमा एक मिटर कायम गर्न सरकारले आग्रह गरिरहेको छ । लकडाउनको समयमा घरमै बस्न सरकारले आग्रह गरेको छ । तर, लकडाउन उल्लंघन गर्नेक्रम बढेको छ । मानिसहरु लकडाउनको अवज्ञा गर्दै विनाकारण घरबाहिर निस्किने गरेका छन् । सदरमुकाम तथा मुख्य व्यापीरिक केन्द्रहरुमा लकडाउन पालना भएपनि गाउँमा चहलपहल यथावत् छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारी, गैह्रसरकारी निकाय, नीजि क्षेत्र लगाएत क्रियाशिल रहेका बेला दैलेखका बालबालिकाले घरमै आचारसंहिता निर्माण गरेका छन् । जिल्लाको भैरबी गाउँपालिकाका बालबालिकाहरुले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न तथा सर्तकताका लागि घरमै आचारसंहिता निर्माण गरेका हुन् । भैरबी गाउँपालिका–५ का १३ बर्षीया ममता शाही कक्षा ८ मा अध्ययनरत छिन् । उनले घरपरिवारका सबै सदस्यहरुलाई जम्मा गरेर आचारसंहिता निर्माण गरेकी छिन् । ‘घर परिवार सबै बसेर आचारसंहिता निर्माण गरेका छौ,’ ममताले भनिन् ‘घरमा बनाएको आचारसंहिता घरपरिवारका सबै सदस्यहरुले पालना गरिरहनु भएको छ ।
उनिजस्तै भैरबी गाउँपालिका–४ का मार्सल विश्वकर्माले स्वास्थ्य, सरसफाई लगाएतलाई समावेश गरे आचारसंहिता निर्माण गरेका छन् । भैरबी गाउँपालिकामा विभिन्न वडामा रहेका बाल क्लब आबद्ध बालबालिका तथा युवा क्लबमा आबद्ध युवाहरुले घरमै आचारसंहिता निर्माण गरेका हुन् । उनिहरुले निर्माण गरेको आचारसंहितामा घरका सबै सदस्यहरुले नियमित हात धुनुपर्ने, नियमित मास्कको प्रयोग गर्नुपर्ने, माछामासु नखाने, खानै परे राम्रोसँग पकाएर खाने, शौचालय तथा घर आँगन सफा राख्ने, विदेशबाट आएका व्यक्तिहरुको सम्पर्कमा नजाने उल्लेख छ ।
आचारसंहितामा अन्य मानिससँगको दूरी कम्तीमा एक मिटर कायम गर्ने उल्लेख छ । आफ्ना छोराछोरीले बनाएको नियम परिवारका सबैले पालना गरिरहेको स्थानीय जसनाकुमारी शाही बताउँछिन् । गाउँपालिकाका करिब ३० घरमा यस्तो आचारसंहिता निर्माण गरेका छन् । सिमित घरहरुबाट सुरु भएको आचारसंहिता निर्माण अहिले सबैघरहरुमा विस्तार हुन थालेको शाही बताउँछिन् । यस अघि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बालबालिकालाई घरमा आचारसंहिता निर्माण सम्बन्धि तालिम प्रदान गरेको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न तथा सर्तकताका लागि घरमै आचारसंहिता निर्माणका लागि एईआइएन लक्जेम्बर्ग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित महिला, युवा तथा बाल अधिकार प्रर्वद्धन कार्यक्रम (आधार) परियोजनाले सहजिकरण गरेको परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् । केहि वडाका बालबालिकाले आ–आफ्नो घरमा थालनी गरेको सचेतना अभियान गाउँपालिकाका सबै वडामा विस्तार गर्ने गाउँपालिकाको योजना छ । प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापा भन्छन् ‘बालबालिकाले चालेको कदमले गाउँपालिकाले चलाएको प्रचारप्रसारको गतिवीधिमा थप मद्धत पुगेको छ,’ सबै टोल बस्तीहरुमा विस्तार गर्न पहल गरिरहेका छौ ।’

तस्विरहरू :


प्रतिक्रिया