कर्णालीमा दैनिक उपभोग्य सामग्रीको अभाव नहुने,कर्णालीमा उत्पादन हुने तरकारीले बजार धान्‍ने

कर्णालीमा दैनिक उपभोग्य सामग्रीको अभाव नहुने,कर्णालीमा उत्पादन हुने तरकारीले बजार धान्‍ने

सुर्खेत वैशाख २३ गते । सोमबार रातिदेखि कर्णाली प्रदेश ७ दिनको लागि सिल गरिएको छ । यो निर्णयसँगै दैनिक उपभोग्य सामग्रीको अभाव हुन्छ कि भन्ने चिन्ता उपभोक्तामा थपिएको छ । तर, कर्णालीमा दैनिक उपभोग्य सामग्रीको अभाव नहुने सरोकारवालाले बताएका छन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका अनुसार हाल कर्णाली प्रदेशभर रहेका ९ वटा गोदाममा ३८ हजार क्विन्टल खाद्यान्न मौज्दात छ । कम्पनीका प्रबन्धक भीम थापाले सुर्खेत गोदाममा मात्रै ८ हजार २ सय क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिए ।

यो मौज्दातले करिब दुई महिनासम्म खाद्यान्न पुग्ने उनको भनाइ छ । ‘संकट आउन नदिन प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं,’उनले भने, ‘खाद्यान्न आपूर्तिमा अहिलेसम्म कुनै समस्या आएको छैन, आगामी दिनमा पनि उपभोक्ता मारमा नपरुन् भन्नेतर्फ हामी सचेत छौँ ।’वर्षादको समय सुरु भएसँगै आपूर्तिका क्षेत्रहरु प्रभावित हुने भन्दै कम्पनीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । थापाका अनुसार सुर्खेत डिपोबाट उपभोक्तालाई सहजताका लागि बिहान साढे ६ बजेदेखि नै बिक्री कक्ष खुला गरिएको छ ।

प्रदेश राजधानी रहेको सुर्खेतमा पनि खाद्यान्न अभाव छैन । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी पदमलाल लामिछानेले खाद्यान्नको मात्रै अवस्था हेर्दा करिब तीन महिनासम्म पुग्ने अनुमान गरिएको बताए । ‘सिल एक हप्ताका लागि मात्रै गरिएको हो,’ उनले भने, ‘अहिल्यै आत्तिनुपर्ने अवस्था आएको छैन, यहाँका उपभोक्तालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ ।’

स्थानीय तरकारीको खपत

कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अनुसार अब कर्णालीमा उत्पादन हुने तरकारीले बजार धान्नेछ । समितिका अध्यक्ष प्रबल शाहीले चाँडै वर्षात भएकाले आगामी असोजसम्म तरकारी प्रशस्त हुने बताए । ‘पानी अहिलेदेखि नै पर्न सुरु गरेको छ,’ उनले भने, ‘अब गर्मी सिजनमा तराईमा तरकारी कम उत्पादन हुन्छ, अब सुर्खेत, दैलेखलगायत जिल्लाका पहाडी भेगमा फल्ने तरकारीले नै बजार धान्छ ।’

स्थानीय तरकारी उत्पादनमा वृद्धि भएकाले प्रदेश सिल गरिए पनि कर्णालीका उपभोक्तालाई पुग्ने तरकारी रहेको अध्यक्ष शाहीको भनाइ छ । उनका अनुसार अहिले बजारमा फलफूल भने कम मात्रामा रहेको छ । अहिले भारतबाट तरकारी आउन बन्द भएको भन्दै उनले स्थानीय स्तरमा उत्पादित केरा मात्रै रहेको जनाए । उनले यो वर्ष बन्दागोभीको खपत कम भएको बताए । ‘पोहोर साल बन्दा धेरै बिक्री भयो,’ उनले भने, ‘त्यही भएर पनि यो पटक किसानले बन्दा नै बढी उत्पादन गरे तर अहिले लकडाउनले होटलहरु बन्द छन् त्यसैले फाल्नुपर्ने अवस्था आएको छ ।’

इन्धन मौज्दात न्यून

नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालयले भण्डारणको समस्याका कारण इन्धन मौज्दात भने कम रहेको जनाएको छ । कार्यालयका प्रदेश प्रमुख दीपकप्रसाद घिमिरेका अनुसार हवाई इन्धन पर्याप्त मात्रामा भए पनि डिजेल–पेट्रोलको मौज्दात कम छ । उनले मंगलबार ३६ हजार लिटर पेट्रोल र १ लाख ३२ हजार लिटर डिजेल मौज्दात रहेको जानकारी दिए ।

प्रदेशको १० जिल्लामा १३ वटामात्र पेट्रोल पम्प रहेको कर्णालीमा लकडाउन अघि दैनिक १ लाख ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल खपत हुँदै आएको थियो । प्रमुख घिमिरेका अनुसार लकडाउन अवधिमा सरदर ४० हजार लिटर डिजेल र ८ हजार लिटर पेट्रोल खपत हुने गरेको छ ।

उनले प्रदेश सिल भएको समयमा पनि प्रदेशभित्र अत्यावश्यक सवारी साधन चल्ने भएकाले डिजेल, पेट्रोल भित्रिन दिनुपर्ने बताए । ‘प्रदेश सरकारले कि प्रदेशभित्र पनि सवारी चल्न दिनुहुँदैन,’ उनले भने, ‘अत्यावश्यक सवारी त पक्कै चल्ने होलान् त्यसका लागि त डिजेल–पेट्रोल चाहिन्छ ।’

प्रदेशमा पर्याप्त इन्धन भण्डारण भएको भए कुनै समस्या नहुने प्रमुख घिमिरेको भनाइ छ । सिल भएकै अवस्थामा कोही बिरामी भएको खण्डमा एम्बुलेन्स पनि चल्नुपर्ने भएकाले इन्धन आवश्यक पर्ने हुँदा यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए । ‘विकास निर्माणका कामहरु गर्ने भनेको छ,’ उनले भने, ‘ती विकास निर्माणका काममा पनि सवारी प्रयोग हुने होलान् त्यसका लागि पनि डिजेल त आवश्यक पर्छ ।’ कान्तिपुरबाट साभार गरिएकाे ।

प्रतिक्रिया