संक्रमितको संख्या ९९ पुग्यो,दुई महिनाको शिशुमा समेत देखियो कोरोना

संक्रमितको संख्या ९९ पुग्यो,दुई महिनाको शिशुमा समेत देखियो कोरोना

काठमाडौं वैशाख २४ गते ।  नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये सात महिला र १० पुरुष छन्। यो सँगै  संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ ।  प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ । 

नेपालमा कोरोनाको उपचारपछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजिटिभ देखिएको हो । देवकोटाका अनुसार उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो । 

यसरी अस्पताल भर्ना हुनेमा वैशाख ११ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुबाट डिस्चार्ज भएका ५८ वर्षीय पुरुष र वैशाख १४ गते वीरगञ्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ र पर्साका ४४ वर्षीय पुरुष छन् । उनीहरुको विषयमा अध्ययन भइरहेको प्रवक्ता देवकोटाको भनाइ छ । 

प्रतिक्रिया