गिरीघाटका बाढीपीडितलाई खाद्यान्न

गिरीघाटका बाढीपीडितलाई खाद्यान्न

सुर्खेत वैशाख २९ गते । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउन सम्बन्धि आदेशका कारण दैनिक आयआर्जन गरी जीवनयापन गर्ने सुर्खेतका बाढीपीडितलाई खाद्यान्न उपलब्ध गराईएको छ । लकडाउनका कारण दैनिक जीविकोपार्जनमा समस्या झेल्दै आएका सुर्खेतको बराहताल गाउँपालिका स्थित गिरीघाटमा बाढीपीडित शिविरका ९१ घरपरिवारलाई खाद्यान्न तथा आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको हो ।


वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत स्थित विकास सशक्तिकरण र सचेतनाका लागि लगानी आइडिया नेपालले खाद्यान्न उपलब्ध गराएको हो । बराहताल गाउँपालिका–२ का ९ विपन्न घरपरिवार र गिरीघाटका बाढीपीडित ९१ घरपरिवार गरी १ सय घर परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गरिएको हो । लकडाउनले ज्यालामजदुरी गर्न बस्ती भन्दा बाहिर जान नसकेका बाढीपीडित घरपरिवारलाई भोकभोकै रहने अवस्था आउन नदिन राहत स्वरुप खाद्यान्न र स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको आइडिया नेपालका अध्यक्ष रचना सुनारले बताइन् ।
अध्यक्ष सुनारका अनुसार आइडिया नेपालले प्रति परिवार एक बोरा चामल, एक केजी दाल, एक पोका तेल, एक प्याकेट नुन, खुर्सानी, मसला, सोयावीन तथा स्वास्थ्य सामग्रीहरु नुहाउने, कपडा धुने र भाँडा माझ्ने साबुन लगाएतका सामग्री वितरण गरेको हो । गाउँपालिकाका जनप्रतिनीधि, आइडिया नेपालका अध्यक्ष रचना सुनार, सचिव राजकुमार विक लगाएतको उपस्थितीमा राहत सामग्री वितरण गरिएको हो ।
बाढीपीडितहरु विगत पाँच बर्ष देखि अस्थायी छाप्रोमा अव्यवस्थीत रुपमा जीवनयापन गर्दै आएका छन् । विपद्को समयमा ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने बाढीपीडितलाई गैरसरकारी संस्थाले गरेको सहयोग महत्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष तेज बहादुर बस्नेतले बताए ।

प्रतिक्रिया