दैलेखमै कालिजको व्यवसायीक पालन

दैलेखमै कालिजको व्यवसायीक पालन

कालिज पालनका लागि अनुदानको रकम हस्तान्तरण गरिँदै । तस्विर हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख जेठ १६ गते ।
दैलेखमा पनि व्यवसायिक कालिज पालन सुरु भएको छ । नारायण नगरपालिका–८ तर्ताङ्गकी महिला उद्यमी सारदादेवी बस्नेतले जिल्लामै पहिलो पटक कालिजको व्यवसायिक पालन सुरु गरेकी छन् । बस्नेतले सुर्खेतबाट प्रतिगोटा एक हजार पाँच सयका दरले ल्याएर एकिकृत कृषि तथा लोकल कुखुरा पालन समुहमार्फत कालिज पालन सुरु गरेकी हुन् । यस अघि बंगुर, माछा, स्थानीय जातका कुखुरा र बोइलर कुखुरा पालन व्यवसाय गर्दै आएकी बस्नेतले कालिज पालन व्यवसाय सुरु गरेकी हुन् । ‘फलफूल खेतीसमेत गर्दै आएको छु,’ उनले भनिन् ‘पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उपलब्ध गराएको ३ लाख रुपैयाँ अनुदान र तीन लाख रुपैयाँ श्रमदानमा कालिज पालन सुरु गरिएको हो ।’ उनको फर्ममा अहिले दुई सय वटा कालिज छन् ।

कालिजको चल्ला उत्पादन गर्ने र चल्ला बिक्री वितरण गर्ने उनको लक्ष्य छ । पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयले चालु आर्थिक बर्षको विशिष्ट जातको पशुपंक्षी पालन कार्यक्रम अन्तरगर्त अनुदान सहयोग गरेको निमित्त कार्यालय प्रमुख भिमबहादुर बिष्टले बताए । उक्त कार्यक्रम अन्तरगर्त दैलेखकै भगवतीमाई गाउँपालिका–६ मा पनि कालिज पालनका लागि अनुदान उपलब्ध गराएको बिष्टले बताए । डुङ्गेश्वर गाउँपालिका–६ मा बटाई पालन, ठाटीकाँध गाउँपालिकामा टर्की पालनका लागि अनुदान रकम दिईएको छ । आफुहरुले कालिज पालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको बिष्ट बताउँछन् । कार्यालयले व्यवसायीहरुलाई अनुदान वापतको रकम घरमै पुगेर हस्तान्तरण गर्ने गरेको छ ।
कालिज पालन व्यवसाय सुरु गरेकी तर्ताङ्गकी महिला उद्यमी सारदादेवी बस्नेतको फर्ममै पुगेर अनुदान बापतको रकम हस्तान्तरण गरिएको छ । नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का, निमित्त कार्यालय प्रमुख भिमबहादुर विष्ट, डा.भृकुटी भट्टराई सहितको टोली उनको फर्ममै पुगेर अनुदान रकम हस्तान्तरण गरेको हो । अनुदान रकम हस्तान्तरण गर्दै नारायण नगरका मेयर रत्नबहादुर खड्काले नगरपालिकाले नगर क्षेत्रका महिला उद्यमी र कृषकहरुलाई प्रोत्साहन गर्ने नीति लिएको बताए ।

प्रतिक्रिया