एसईई नहुने, आन्तरिक मूल्यांकनबाट प्रमाणपत्र

एसईई नहुने, आन्तरिक मूल्यांकनबाट प्रमाणपत्र

काठमाडाैं जेठ २९ गते ।

गत चैतमा रोकिएको कक्षा १० अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । विद्यालयहरूले लिएको आन्तरिक परीक्षाको ग्रेडसिटका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने भएको छ । यससम्बन्धी व्यवस्था गर्न कानुनी प्रबन्ध मिलाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

आन्तरिक मूल्यांकनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने र यसका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाउने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । ‘कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ, विद्यालयमा क्वारेन्टाइन बनाइएको छ,’ उनले भने, ‘परीक्षा गर्ने वातारण नभएकाले आन्तरिक मूल्यांकनलाई वैधता दिने निर्णय भयो ।’ विद्यालयबाट यसअघि हुँदै आएको मूल्यांकनकै आधारमा बोर्डबाट प्रमाणीकरण गर्ने गरी मन्त्रालयले प्रस्ताव लगेको थियो । विद्यालयले यसअघि नै गरेको मूल्यांकनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने र उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणीकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ ।

कक्षा ११ र १२ को परीक्षाका विषयमा भने कुनै निर्णय भएको छैन । मन्त्री पोखरेलले कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरिने बताए । ‘कक्षा १२ को विद्यालय तहको अन्तिम परीक्षा भएकाले सञ्चालन गर्न जरुरी छ,’ उनले भने । आगामी एसईई परीक्षा के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री पोखरेलले जानकारी दिए । गएको चैत ६ गतेदेखि सञ्चालन गर्ने समयतालिका बनाइएको एसईई परीक्षा चैत ५ गते स्थगित गरिएको थियो । ४ लाख ८२ हजार विद्यार्थी एसईईको तयारीमा थिए ।

प्रतिक्रिया