आइसोलेसनका बिरामीलाई पीसीआर परीक्षण गराएर मात्र घर पठाउन सर्वोच्चको आदेश

आइसोलेसनका बिरामीलाई पीसीआर परीक्षण गराएर मात्र घर पठाउन सर्वोच्चको आदेश

काठमाडौं असार ९ गते । सर्वोच्च अदालतले आइसोलेसन रहेका बिरामीलाई पीसीआर परीक्षण गराएर मात्र घर पठाउन आदेश दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको विषयमा २०७७ जेठ २२ गतेको निर्णय अनुसार ल्याएको  कोरोना परीक्षण सम्बन्धि निर्देशिका (नेशनल टेस्टिङ गाइडलाइन्स फर कोभिड–१९) कार्यान्वयन नगर्नू भन्दै यस्तो आदेश दिएको हो। 

सर्वोच्चका न्यायधीश डा. आन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्र इजलासले स्वास्थ्य मन्त्रालयको निर्देशिकामाथि रोक लगाउँदै यस्तो आदेश गरेको हो।‘बिरामीको संख्या तथा परीक्षण क्षमता हेर्दा पुनः परीक्षण गर्न नसकिने भन्ने देखिँदैन’, आदेशमा भनिएको छ, ‘आइसोलेसनमा रहेका बिरामीलाई निश्चित अवधिपछि बिना परीक्षण घर पठाउन सकिने भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्माण गरेको निर्देशिकाको पक्षमा उभिनुपर्ने देखिएन।’ 

अधिवक्ता सन्तोष भण्डारीसमेतले दायर गरेको सार्वजनिक सरोकारको रिटमा सोमबार यस्तो आदेश भएको हो। उक्त आदेशको प्रति भने सार्वोच्चले मंगलबार मात्र सार्वजनिक गरेको छ। परीक्षण पश्चात कोरोना संक्रमण देखिइ आइसोलेसनमा राखिएका बिरामी बिना परीक्षण फर्काउने भन्ने कुरा संविधान सम्वत् नदेखिएकोसमेत सर्वोच्चले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकामा आइसोलेसनमा रहेका बिरामीलाई लक्षण नदेखिए १४ दिनमा घर पठाउने व्यवस्था गरिएको थियो। सर्वोच्चको यो आदेशसँगै अब सरकारले आइसोलेसनमा रहेका बिरामीलाई पीसीआर परीक्षण नगराई घर पठाउन पाउने छैन। 

प्रतिक्रिया