जसले पढाईरहेका छन् टोल छिमेकका बालबालिका !

जसले पढाईरहेका छन् टोल छिमेकका बालबालिका !

दैलेख असार १७ गते ।
गुराँस गाउँपालिका वडा नं ८ स्थित कालिका माध्यामिक विद्यालयका शिक्षक खुसिराम खत्रीले आफ्नो टोल छिमेकमा रहेका बालबालिकालाई नियमित शिक्षा दिन सुरु गरेका छन् । आफ्नो जिम्मेवारीलाई पुरा गर्न उनले ४० जना बालबालिकालाई सामाजिक दुरी कायम गर्दै नियमित अध्यापन गर्ने गरेका छन् । कोरोना भाइरसका कारण विगत लामो समय देखि नियमित सञ्चालन हुन नसकेका विद्यालयहरुलाई सञ्चालन गर्न यो पहिलो अभ्यास भएको वडा नं ८ का वडाध्यक्ष पूर्णबहादुर वलीले वताए ।
‘देश पूर्ण रुपमा बन्दावन्दीको अवस्थामा रहेपनि वडा नं ८ मा संक्रमणको दर घट्दै गएका कारण विद्यालय सञ्चालनमा कुनै समस्या छैन्,’ वडाध्यक्ष वलीले भने । अब सबै शिक्षकहरु विद्यालयमा फर्केर नियमित पठन पाठनमा सहभागी हुनुपर्ने उनको भनाई छ । ‘कोरोना भाइरसकै कारण हामीले कहिलेसम्म विद्यालय बन्द गर्ने,’ वडाध्यक्ष वलीले पश्न गरे ‘यसले गर्दा एउटा पुस्ता पछाडी पर्छ, अब विद्यालय सञ्चालनका लागि वैकल्पिक उपायको खोजी हुनुपर्छ ।’ विद्यालय पूर्णरुपमा सञ्चालन गर्नसक्ने स्थिती अझै तयार नभए पनि बालबालिकाको सिकाईलाई निरन्तरता दिन सम्बन्धित सरोकारवाला सबैको जिम्मेवारी भएको उनले बताए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्दै विद्यार्थीलाई नियमति सिकाईमा उत्साहित गराउने उद्धेश्यले कक्षा सञ्चालन गरिएको शिक्षक खुसिराम खत्रीले बताउँछन् । ‘बालबालिका लामो समयदेखि घरमै बसेका कारण उनीहरुको शिक्षा प्राप्त गर्ने अधिकार हनन् भएको छ,’ शिक्षक खत्रीले भने ‘शिक्षण सिकाईमा पनि समस्या भएको छ, हाम्रो जस्तो कमजोर शैक्षिक गुणस्तर भएका स्थानमा लामोसमय विद्यालय बन्द गर्दा बालबालिकामा विद्यालय शिक्षा प्रतिनै वितृष्णा जागेर अधिकाँश बालबालिका विद्यालय बाहिर हुनसक्ने सम्भावना देखेपछि कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’
पाठ्यक्रममा तोकिए अनुसार नै अध्ययन अध्यापन गरिएको उनले बताए । शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने पुरानो पद्धती भन्दा पनि विद्यार्थीलाई कसरी बढी भन्दा बढी सहभागी गराउन सकिन्छ भन्ने विषयमा छलफल हुने गरेको छ । यो कक्षामा विद्यार्थीको सहभागीता बढी र शिक्षकको सक्रियता कम हुने गर्छ । विद्यार्थीलाई घरमा पनि व्यस्त बनाईरहनका लागि वैकल्पिक उपायहरुको खोजी गरिएको खत्रीको भनाई थियो ।
देश बन्दाबन्दीको अवस्थामा पनि समुदायस्तरमा बालबालिकालाई शिक्षण सिकाईमा कसरी सहभागी गराउन सकिन्छ भनेर वडा कार्यालयसँग नियमित रुपमा छलफल भईरहेको सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा– दोस्रो परियोजनामा कार्यरत फिल्ड अधिकृत कमला मल्लले बताइन् ।

प्रतिक्रिया