दुम्सी खोज्न दुलोमा पस्दा च्यापिएर मृत्यू

दुम्सी खोज्न दुलोमा पस्दा च्यापिएर मृत्यू

अमर सुनार, दैलेख साउन ९ गते ।
दुम्सी खोज्न दुलोमा पसेको बेला ढुंगाले च्यापिएर दैलेखमा एक जना युवकको ज्यान गएको छ । नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर ओलीले जानकारी दिए ।
नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको जुफिया चौवारी भन्ने ठाउँमा दुम्सी लुक्ने दुलोमा भित्र पसेको बेला माथिबाट ढुंगा खसेर च्यापिएर घटना स्थलमै मृत्यु भएको हो । दुलोभित्र गइसकेपछि माथिबाट माटो खस्न थालेपछि दुलोमा पसेका खड्कबहादुर बिष्ट झटपट बाहिर निस्केर ज्यान जोगाएका बताइएको छ ।
दुलोभित्रै च्यापिएको करिब डेढ घण्टापछि स्थानीय र लोहोरे प्रहरी चौकीका सुरक्षाकर्मीहरुले मृतकको शव बाहिर निकालेका थिए । मृतकको शव पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको छ ।
मृतक रेशमबहादुर बिष्ट नौूमूले गाउँपालिका–७ पैतीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडागाउँमा प्राथमिक तहको स्थायी शिक्षक हुन् । उनको श्रीमति र ४ छोरा छन् । ती मध्ये कान्छो छोरा २ महिनाको मात्र भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया