राप्रपा छाडेका सुनील थापा कांग्रेस प्रवेश

राप्रपा छाडेका सुनील थापा कांग्रेस प्रवेश

काठमाडौँ साउन १३ गते । राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित कांग्रेसमा प्रवेश गरेका छन् । आफ्नै बाबुलगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेता थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए । त्यस क्रममा सभापति देउवा थापा लगायत नयाँ प्रवेशीलाई पार्टी सदस्यता कार्ड दिए ।

कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा थापा भने बाहिरिएका हुन् ।थापाले राप्रपासँग आफ्नो सैद्धान्तिक विमति रहेको बताएका छन् । राप्रपाले परिवर्तन र जनताको माग सम्बोधन गर्न नसकेपछि आफू त्यसमा अटिरहन नसकेको उनले बताए ।

राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मागलाई उठाएर अगाडि बढ्ने राजनीतिक योजना अगाडि सारेकोमा थापाले विगतदेखि नै असहमति राख्दै आएका थिए । उनले गणतान्त्रिक संविधान पनि मान्ने र राजतन्त्र पनि ल्याउनुपर्छ भन्ने कुरा सही दिशा नभएको कुरा राख्दै आएका थिए ।राजतन्त्र र नेपाललाई धर्मनिरपेक्ष बनाउने संविधानसभामा भाग लिएको, त्यस्तो संविधानअनुसार भएका निर्वाचनमा भाग पनि लिने अनि फेरि हिन्दुराष्ट्र र राजतन्त्रको नारा लगाउनु सही नभएको उनको भनाइ छ ।

प्रतिक्रिया