२४ घण्टामा २७४ संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार ५४७ पुग्यो, ५२ जनाको मृत्यु

२४ घण्टामा २७४ संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार ५४७ पुग्यो, ५२ जनाको मृत्यु

काठमाडौं साउन १५ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबार मात्र तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन्।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन १४ गते मृत्यु भएको हो। उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि विराटनगरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार नै ल्याइएको थियो। उनको पीसीआर परीक्षण गर्दा बुधबार नै कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। 
उनको मृत्यु बिपी प्रतिष्ठान धरानको आइसोलेसनमा बुधबार साँझ पौने पाँच बजे भएको हो।
 
त्यसैगरी पर्साको वीरगन्ज नगरपालिका ७ का ७० वर्षीया पुरुषको बुधबार नै निधन भएको हो। मुटु तथा मधुमेह रोगका बिरामी उनको वीरगञ्जको निजी अस्पतालमा निमोनियाको उपचार गर्दै गर्दा साउत ८ गते कोरोना पुष्टि भएको थियो। उनको बुधबार बिहान ११ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो। उनमा साउन १४ गते मात्र कोरोना पुष्टि भएको थियो। 

त्यसैगरी पर्साकै वीरगञ्ज महानगरपालिका ५ का ६८ वर्षीय पुरुषकोसमेत बुधबार नै निधन भएको हो। साउन ७ गते कोरोना पुष्टि भएका उनी मिर्गौला पीडित थिए। साउन १३ गते नारायणी अस्पतालको आइसोलेसनमा राख्न नसकिएपछि उनलाई नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएको हो।  

पछिल्लो २४ घण्टामा नेपालमा २७४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।  बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो। पछिल्लो २४ घण्टामा दुई सय २७ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार दुई सय ४८ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५  जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्

काठमाडौंका ४१ , भक्तपुरका २  र ललितपुरका २ जना गरी ४५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०२ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।  मन्त्रालयका अनुसार  क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार २०१ पुगेको छ। यस्तै आइसोलेसनमा ५ हजार २ सय २७ जनाको उपचार भइराखेको छ ।

प्रतिक्रिया