आत्महत्याको भयावह अवस्था,आर्थिक अभाव मुख्य कारण

आत्महत्याको भयावह अवस्था,आर्थिक अभाव मुख्य कारण

काठमाडौं साउन २३ गते ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १२ बाहुनगाउँका ३४ वर्षीय बलराम उप्रेतीले आइतवार घरनजिकैको रुखमा डोरीले पासो लगाएर आत्महत्या गरे । भारतमा रोजगारी गरेर जीविका चलाउँदै आएका उप्रेती लकडाउन हुनुभन्दा केही समय अगाडि अर्थात् २०७६ साल चैत ४ गते नेपाल आएका थिए । कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण रोकथामका लागि भन्दै सरकारले २०७६ चैत ११ गतेदेखि झण्डै ४ महिना लामो लकडाउन ग¥यो । सीमा नाका अझै सिल छन्, भारतमा कोरोना संक्रमण अझै बढी छ । सोही कारण उनी रोजगारीका लागि भारत फर्किन पाएनन् ।काठमाडौं साउन २३ गते ।
पुख्र्यौली सम्पत्ति नभएका उप्रेतीले भारतमा रोजगारी गरेरै एउटा सानो छाप्रो घर बनाएका थिए । उनका श्रीमती र दुई छोरा (८ र ७ वर्षीय) छन् । कोरोना संकट लम्बिँदै जाँदा उनी आर्थिक रूपमा समस्यामा थिए । केही दिनअघि छिमेकी गोपी घिमिरेसँग उनले भनेका रहेछन्, ‘अब त बाँच्नै समस्या होला जस्तो छ, यति बेलासम्म त भारत गएर २०/२५ हजार कमाइसक्थ्येँ ।’
पछिल्लो समय टोलाइरहने, श्रीमतीलाई पनि केही नभनी हिँड्ने जस्ता अस्वाभाविक व्यवहार गर्न थालेको सुनेको उनले बताए । कोरोनाभाइरसको संक्रमणले गर्दा रोजगारी गुमेपछि आर्थिक अभावका कारण आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यलय धादिङको प्रारम्भिक निष्कर्ष छ । ‘हामीले अनुसन्धान गर्दा बलरामले रोजगारीमा जान नपाएपछि आर्थिक अभावका कारण आत्महत्याको बाटो रोजेको जस्तो देखिन्छ,’ जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले भने ।
धादिङकै नीलकण्ठ नगरपालिका– ६ की संगिता मग्रातीले विष सेवन गरेर आत्महत्या गरिन् । सामान्य परिवारकी संगीताका पनि २ सन्तान छन् । श्रीमान र उनी दुवैले ज्याला मजदुरी गर्दै आएका थिए । श्रीमान् श्रीमतीबीच पनि कुनै मनमुटाब भएको जानकारी नभएको छिमेकी बताउँछन् । कोरोनाका कारण छोराछोरी पाल्न समेत गाह्रो भयो भनेर उनले छिमेकीहरूलाई भन्ने गरेको खुलेको डीएसपी खड्काले बताए ।
‘लामो समयको लकडाउनले ज्याला मजदुरी गर्न नपाउँदा आर्थिक रूपमा विचलित भएको देखिन्छ,’ डीएसपी खड्काले भने । कोरोनाभाइरसका कारण रोजगारी गुमाएर खान तथा बस्न समेत समस्या भएपछि आत्महत्याको बाटो रोज्ने गरेको देखिएको मनोचिकित्सकहरू बताउँछन् । दैनिक ज्यालादारी गर्दै आएका मानिसहरूले खान बस्नको समस्याले पनि आत्महत्याको बाटो रोजेको प्रहरी अनुसन्धानहरूको निष्कर्ष छ ।
नेपालमा लकडाउनको अवधिमा नेपालमा २ हजार २ सय १८ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्सालले जनाएको छ । प्रहरीको तथ्यांकअनुसार २०७६ चैत ११ गतेदेखि २०७७ साउन ४ गतेसम्मको अवधिमा २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन्, यसमध्ये सबैभन्दा धेरै झुन्डिएर १ हजार ८ सय २८ जना, पानीमा हामफालेर १२ जना, छतबाट हाम फालेर १९ जना, विष खाएर ३ सय ४६ जना, हातहतियार र औजारबाट ८ जना र करेन्ट लगाएर १ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । चैत ११ बाट शुरू भएको लकडाउन साउन ७ गते अन्त्य भएको थियो । अहिलेसम्म कोरोनाका कारण ६० जनाको मृत्यु भएको पुष्टि भएको छ । यसबीचमा आत्महत्या गर्नेको संख्या कोरोनाका कारण मृत्यु हुने भन्दा ३७ गुणा बढी छ ।
५ नम्बर प्रदेश आत्महत्या गर्नेमा अगाडि छ । लकडाउनको अवधिमा उक्त प्रदेशका ४ सय २९ जनाले आत्महत्या गरेका छन् । बाग्मती प्रदेशमा ३ सय ८५ जनाले र उपत्यकामा १ सय ४९ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेशमा आत्महत्याको संख्या सबैभन्दा थोरै १ सय १९ रहेको प्रहरीको तथ्यांक छ । पछिल्लो २ महिनामा आत्महत्या गर्नेको संख्या अधिक बढेको देखिन्छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो २ महिनामा आत्महत्या गर्नेको संख्या ९ सय ९८ छ । कोरोना महामारीका कारण रोजगारी गुमाउनु, लामो समयसम्म घरमा बस्नु, आर्थिक अभाव र विभिन्न कारणले गर्दा आत्महत्याको बाटो रोजेको देखिन्छ । पछिल्लो एक वर्ष (२०७६ साउन १ देखि २०७७ साउन ४ सम्म) को तथ्यांक हेर्ने हो भने नेपालमा ६ हजार २७९ जनाले आत्महत्या गरेको देखिन्छ । लोकान्तर

प्रतिक्रिया