लकडाउनको अवधी दैलेखमा २३ जनाले गरे आत्महत्या

लकडाउनको अवधी दैलेखमा २३ जनाले गरे आत्महत्या

दैलेख साउन २६ गते । कोरोनाका त्रासका कारण भारतबाट फर्किएका दैलेखका एक युवकले झुण्डिएर आत्महत्या गरे । दुल्लु नगरपालिका–१० गमौडीकी ती युवक जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आईपुगेको थिए । भारतबाट फर्र्किएका ती युवक १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि झुण्डिएको अवस्थामा ती युवकको शव फेला परेको थियो । आत्महत्या पछि स्वाब संकलन गरी गरिएको पीसीआर परिक्षणमा ती युवकमा कोरोना पोजेटिभ देखिएको थियो ।
यो प्रतिनीधिमुलक घटना मात्रै हो । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला ठूलो संख्याले आफ्नै हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार लकडाउनको अवधिमा २३ जनाले आत्महत्या गरेको तथ्यांक छ । २०७६ चैत ११ बाट शुरू भएको लकडाउन २०७७ साउन ७ गते अन्त्य भएको थियो । यो अवधीमा दैलेख कोरोनाबाट जम्मा ३ जनाको मृत्यु भएको थियो ।

आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढि छन् । घरेलु हिंसा, मानसिक तनाब, आर्थिक अभाव लगाएतका कारण आत्महत्या गर्ने गरेको पाईएको छ । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुले समेत आत्महत्या गरेको दैलेख प्रहरीले जनाएको छ । आत्महत्या रोक्न जिल्ला प्रहरी कार्यालय दैलेखले ठोस कदम चाल्ने जनाएको छ । आत्महत्या रोक्न विशेष कार्ययोजना बनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन योजना प्रहरीको छ ।
नेपालभर २ हजार २१८ जनाले गरे आत्महत्या
नेपालभर लकडाउनको अवधिमा २ हजार २ सय १८ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार २०७६ चैत ११ गतेदेखि २०७७ साउन ४ गतेसम्मको अवधिमा २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन् । यसमध्ये सबैभन्दा धेरै झुन्डिएर १ हजार ८ सय २८ जना, पानीमा हामफालेर १२ जना, छतबाट हाम फालेर १९ जना, विष खाएर ३ सय ४६ जना, हातहतियार र औजारबाट ८ जना र करेन्ट लगाएर १ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।
प्रदेश नम्बर ५ मा आत्महत्या गर्नेको संख्या बढी रहेको प्रहरीको तथ्यांक छ । लकडाउनको अवधिमा उक्त प्रदेशका ४ सय २९ जनाले आत्महत्या गरेका छन् । बाग्मती प्रदेशमा ३ सय ८५ जनाले र उपत्यकामा १ सय ४९ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेशमा आत्महत्याको संख्या सबैभन्दा थोरै १ सय १९ रहेको प्रहरीको तथ्यांक छ ।
आत्महत्या रोक्न के गर्दैछ प्रहरी ?
आत्महत्या रोक्न जिल्ला प्रहरी कार्यालय दैलेखले ठोस कदम चाल्ने जनाएको छ । प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्य भन्छन् ‘आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढि छन्, हामीले आत्महत्या रोक्न विशेष कार्ययोजना बनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैछौ ।’ घरेलु हिंसा, मानसिक तनाब, आर्थिक अभाव लगाएतका कारण आत्महत्या गर्ने गरेको आचार्यले बताए । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुले समेत आत्महत्या गरेको आचार्यले जनाए ।
कोही किन आफैँलाई मार्छ ?
भनिन्छ, मान्छेले संसारमा सबभन्दा बढी माया आफैँलाई गर्छ । त्यसो भए आफूले सबभन्दा बढी माया गर्नेकै हत्या किन गर्छ त, मान्छे ? मनोविश्लेषकहरू आत्माहत्यालाई सामाजिक, मनोवैज्ञानिक र जैविक कारणहरूको उपज मान्छन् । उनीहरूका अनुसार, आत्महत्या गर्नेहरूमध्ये अधिकांशमा कुनै न कुनै रुपमा मानसिक रोग हुन्छ । सबै मानसिक रोगीले आत्महत्या गर्छन् भन्ने चाहिँ होइन । मनोविश्लेषकहरु भन्छन् ‘जिउनभन्दा आफैँलाई मार्न सहज लागेपछि मान्छे आत्महत्या जस्तो गलत बाटो रोज्न पुग्छ ।’

प्रतिक्रिया