म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाएपछि प्रहरीले थाल्यो अनुसन्धान

म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाएपछि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडाैं भदाै २ गते । सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भयाे । त्यस भिडिओको ४० औं सेकेन्डमा गायक ‘गेल्जङ दोर्जे तामाङले झण्डा जलाएको देखिन्छ। भिडिओमा राष्ट्रिय झण्डा जलाएपछि अहिले चौतर्फी विरोध भइरहेको छ। धेरैले गायकलाई कारबाहीको माग गरेका छन् भने भिडिओलाई हटाउन समेत माग गरिएको छ।

यता नेपाल प्रहरीले गायक तामाङको खोजी गर्न थालेको छ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यस विषयमा अनुसन्धान अघि बढाइसकेको छ। ‘त्यस सम्बन्धमा अनुसन्धान सुरू गरिसकेका छौं’ एसएसपी कडायतले सेतोपाटीसँग भने।  उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका ३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।

मकवानपुरको घटना भएकोले जिल्ला प्रहरी कार्यालय, मकवानपुरले गायकको खोजी गर्न टोली खटाइसकेको छ।  ‘हामीले पक्राउ गर्नका लागि खोजी गरिरहेका छौं तर ती व्यक्ति कहाँका हुन् भन्ने खुलिसकेको छैन,’ प्रवक्ता तथा डिएसपी इन्द्रबहादुर रानाले भने। उनको खोजी गर्न जिल्लाबाट इन्स्पेक्टरको टोली खटिएको डिएसपी रानाले जानकारी दिए। प्ररम्भिक रूपमा अनुसन्धान गर्दा प्रहरीले उनको नाम गेल्जङ दोर्जे तामाङ भएको बताए पनि वास्तविक नाम भने पुष्टि भइसकेको छैन।

यस्ताे छ कानुनी व्यवस्था

मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।

प्रतिक्रिया