टिकटकले इन्टरनेट सुस्त

टिकटकले इन्टरनेट सुस्त

काठमाडौं भदाै २१ गते । लकडाउन सुरु भएयता नेपालमा इन्टरनेट झनै सुस्त (स्लो) भएको गुनासो आइरहेको छ। तर, इन्टरनेट सेवाप्रदायकले टिकटक, युट्युब र फेसबुकका ‘भिडियो कन्टेन्ट’ले इन्टरनेट गति कमजोर भएको बताएका छन्।

लकडाउनपछि घरभित्रै थुनिएका मान्छेले धेरैजसो समय भिडियो हेर्नमा व्यतित गरेकाले इन्टरनेट सुस्त भएको उनीहरूले बताए। प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तक्र्रियामा सुबिसु केबल नेटका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले लकडाउनपछि सुबिसु केबल नेटको मात्रै २२ देखि २५ जीबीपीएस ब्यान्डविथको माग बढेको बताए।

‘लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झन्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो। अहिले ५÷६ सय जीबीपीएस खपत भइरहेका छ’, उनले भने। महामारी सुरु भएयता गुगल ३७ प्रतिशत, फेसबुक ७२ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको उनले जानकारी दिए। भिडियो अन्तक्र्रिया, भिडियो च्याटिङ र शैक्षिक संस्थाका अनलाइन क्लासले पनि इन्टरनेटको खपत बढाएको छ।

लकडाउनपछि घरभित्रै थुनिएका मान्छेले धेरैजसो समय भिडियो हेर्नमा व्यतित गरेकाले इन्टरनेट सुस्त

भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहोराले पनि इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो नटुंगिने बताए। ‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ। भोलि यस्तै अर्को एप आउला’, उनले भने, ‘धेरे इन्टरनेट खपत गर्ने साइट चलाउँदा इन्टरनेटको गुणस्तर खस्किन्छ।’ अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा इन्टरनेटको गुणस्तर कसरी कायम गर्ने भन्ने चुनौतीपूर्ण रहेको बोहोराको भनाइ छ।

सेवाप्रदायकले गुगल, फेसबुक वा टिकटकजस्ता एप र साइटमा पनि समस्या आउँदासमेत आफूहरूले ग्राहकको गाली खाइरहनु परेको गुनासो गरे। त्यस्तै नेपालले अहिले भारतको टाटा, एयरटेलजस्ता कम्पनीबाट ब्यान्डविथ (इन्टरनेटको मूल) खरिद गर्ने गरेका छन्। त्यस्ता ब्यान्डविथ प्रदायकको प्रणालीमा समस्या आउँदा पनि बेलाबखत नेपालमा इन्टरनेट कमजोर वा बन्द हुने गरेको छ। त्यसबाहेक प्रयोगकर्ताले चलाउने डिभाइसको गुणस्तरले पनि इन्टरनेटको गतिलाई असर पार्ने उनीहरूले बताए। नेपालको भौगोलिक विकटताले पनि इन्टरनेटको गतिलाई कहिलेकाहीँ प्रभावित पारेको सेवाप्रदायकको भनाइ छ।

तर मुलुकभित्र इन्टरनेटको खपत बढे पनि ब्यान्डविथ बढाउने र गुणस्तर सुधार गर्ने काममा सरकारले ध्यान नदिएको दूरसञ्चार विज्ञ आनन्दराज खनाल बताउँछन्। ‘महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारका लागि विकसित देशले ब्यान्डविथ बढाउनेदेखि थुप्रै पहल गरेका छन्’, उनले भने, ‘तर नेपाल सरकारले उपभोक्तालाई छुट दिने निर्देशनबाहेक अरु केही गरेको छैन।’

विज्ञहरूले बढ्दो इन्टरनेट खपतको माग धान्न र गुणस्तर कायम गर्न पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएका छन्। यसका लागि सरकार र सेवाप्रदायकले मिलेर काम गर्नुपर्ने उनीहरूले बताए।

प्रतिक्रिया