बलात्कारको आरोप लगाउने युवतीले अदालतमा बयान फेरेपछि एक महीना कैद र एक हजार जरिवाना

बलात्कारको आरोप लगाउने युवतीले अदालतमा बयान फेरेपछि एक महीना कैद र एक हजार जरिवाना

सुर्खेत भदाै ३१ गते । सुर्खेत जिल्ला अदालतले बलात्कारको आरोप लगाएर बयान फेरेपछि एक १८ वर्षीया युवतीलाई कैद र जरिवाना दुवै सजायको फैसला सुनाएको छ। आफुलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी युवतीले अदालतमा बयान फेरेपछि अदालतले यस्तो फैसला गरेको हो।

१४ भदौमा अदालतले युवतीलाई एक महीना कैद र एकहजार पाँचसय रुपैया जरिवाना फैसला सुनाएको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए। युवतीले तत्कालीन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतका प्रमुख रामबाबु भनिने रामप्रसाद गुप्तालाई बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन्। 

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका प्रमुख गुप्ताले २८ र ३० असोज २०७६ मा कार्यालयमै बोलाएर बलात्कार गरेको भन्दै सोही वर्ष मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजूरी दर्ता गरेकी थिइन्। युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख गरेको र उक्त वकपत्र नै झुठो भएको ठहर गर्दै अदालतले फैसला गरेको बास्कोटाको भनाइ छ।

“बलात्कारको आरोप लगाएर जाहेरी दिएकी ती युवतीले अदालतमा बयानको क्रममा बलात्कार नभएको र साथीहरूले उक्साएर जाहेरी दिएको बताएकी थिइन्”, बास्कोटाले भने, “जबरजस्ती करणी जस्तो गम्भीर आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गरिएकाले अदालतले कैद र जरिवानाको फैसला गरेको हो ।” 

पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार फैसला भएको अदालतले जनाएको छ।

अदालतले फैसला गरेपनि युवती भने फरार रहेकी छन्। फैसला भएदेखि पीडित भनिएकी युवती सम्पर्कमा नआएको र कैद भुक्तान तथा जरिवाना असुल गर्न पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाउन लागेको श्रेस्तेदार बास्कोटाले जानकारी दिए।

प्रतिक्रिया