राउटेले मनाए संविधान दिवस

राउटेले मनाए संविधान दिवस

हिक्मतबहादुर नेपाली
दैलेख असोज ४ गते ।

नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे नागरिक दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो । आफूलाई वनको राजा भन्न रुचाउने राउटे कर्णालीका दैलेख, सुर्खेत लगाएतका जिल्लाको जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका छन् । राउटेले स्थायी बसोबास, लेखपढ र खेतीपातीलाई अस्वीकार गर्दै आएको छ । सरकारले राउटे समुदायका प्रत्येक व्यक्तीहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ताको व्यवस्था पनि गरेको छ ।
नेपालको संविधान २०७२ ले कुनै पनि नेपाली नागरिकहरुलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित नगरिने व्यवस्था गरेको छ । तर, यो समुदायका नागरिकहरुले नागरिकता भने पाएका छैनन् । स्थानीय प्रशासन र सरकारले पटक–पटक नागरिकता प्रमाणपत्र दिलाउन खोजे पनि राउटेले इन्कार गर्दै आएका छन् । नेपालको नागरिकता नलिएपनि राउटेहरु नेपाली नागरिक हौं भन्नेमा गौरव गर्छन । अर्कोतर्फ सरकारले उनिहरुलाई एकै ठाउँमा बस्न आग्रह गरिरहेपनि अस्विकार गर्दै आएका छन् ।


नेपाली नागरिकता विहिन राउटे समुदायले यस बर्षपनि संविधान दिवस मनाएका छन् । दैलेखको गुराँस गाउँपालिका–८ भ्यूचुला स्थित धनचौरमा रहेका राउटेले आफ्नै बस्तीमा दिवस मनाएका हुन् । दिवसका अबसरमा एइआईएन लक्जेम्बर्गको सहयोग तथा गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा आयोजित कार्यक्रममा राउटे बालक, युवा तथा बृद्धहरुले गाउँपालिकाका जनप्रतिनीधि लगाएतको उपस्थितीमा आफ्नै संस्कृृति झल्कने नाचसमेत देखाए । राउटेले आफ्नो कला, संस्कृति र भेषभुषा प्रदर्शन समेत गरे । राउटेको झाँकीले कार्यक्रममा रौनक थपेको थियो ।
उनिहरुले पछिल्लो तीन बर्षयता संविधान दिवस मनाउँदै आएका छन् । यसअघि कर्णाली प्रदेश सरकारले राजधानी विरेन्द्रनगर सुर्खेतमा आयोजना गर्नेभ कार्यक्रममा सहभागि हुँदै आएका राउटे यस बर्ष भने आफु बसिरहेको बस्तीमै संविधान दिवस मनाएका हुन् । तर, सबै राउटेले संविधानबारे अनभिज्ञता प्रकट गरेका छन् । राउटे महामुखिया महिनबहादुर शाहीले भने ‘संविधान के हो हामीलाई केहि थाहा छैन्, अघिल्लो बर्ष सुर्खेतमा बोलाएपछि समुदायका २० जना पुगेर दिवस मनाएका थियौ, यस बर्ष बस्तीमै कार्यक्रम दिवस मनाएका छौ ।’ उनले संविधानमा व्यवस्था गरिएका आफ्ना अधिकारहरु जानकार नभएको उल्लेख गरे ।
राउटे समुदायका नागरिकहरुलाई २०७५ सम्म सरकारी प्रमाणपत्र बिनै सरकारी सुविधा प्रदान गरिन्थ्यो । तर, २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाले परिचय पत्र प्रदान गरेको थियो । हाल सोहि परिचयपत्रका आधारमा उनिहरुले सरकारी सुविधा (सामाजिक सुरक्षा भत्ता) लिईरहेका छन् । राउटे मुखिया सुर्यनारायण शाहीले आफूहरू स्वतन्त्र रूपमा बसोबास गर्न चाहने बताए । ‘तत्कालका तत्काल परिवर्तन हुन सकिदैन्, मुखिया शाहीले भने ‘विस्तारै परिवर्तन हुन्छौ ।’


संविधान दिवसमा राउटेलाई खाद्यान्न


फिरन्ते रुपमा जीवनयापन गर्दै आएका राउटे समुदाय हाल गुराँस गाउँपालिका –८ को धनचौरमा बसोबास गर्दै आएको छ । उनिहरुको जनसंख्या १ सय ५१ जना छ । संविधान दिवसको अबसरमा राउटे समुदायका नागरिकहरुलाई खाद्यान्न वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न उपलब्ध गराएको हो । ४६ घरपरिवारलाई चामल, तेल, नुन लगाएतका खाद्यान्न उपलब्ध गराईएको छ । संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले खाद्यान्न अभाव झेलिरहेका राउटे नागरिकहरुलाई संविधान दिवसको अबसर पारेर खाद्यान्न उपलब्ध गराईएको बताए । केहि दिन अघि राष्ट्रिय बाल दिवस समेत मनाएका राउटेको कला र संस्कृति बचाउन औपचारिक कार्यक्रममा सहभागी गराउन थालिएको थापाको भनाई छ । ‘पछिल्लो समय राउटेले आफू परिवर्तन हुने चाहना व्यक्त गर्न थालेका छन्, त्यसैले उनीहरूलाई संस्कृति र परम्परा जोगाउँदै सामाजिकीकरणको मूल प्रवाहमा ल्याउन खोजिएको हो,’ थापाले भने, ‘पछिल्लो समय राउटे समुदायले गलत संस्कार छाड्दै गइरहेका छन् ।’ एईआईएन लक्जेम्वर्गको आर्थीक आफुहरुले राउटे परियोजना संचालन गरेको संस्थापक अध्यक्ष थापाले बताए ।
गुराँस गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर ओलीले राउटे नागरिकहरुको जीवनशैली परिवर्तन हुन थालेको बताए । ‘सरसफाईमा ध्यान दिन थालेका छन्, अनिवार्य हात धुनुपर्छ धन्ने बानी परेको छ,’ वडाध्यक्ष ओलीले भने ‘मजदुरी गर्न समेत थालिसकेका छन् ।’ स्थानीय सरकारले राउटे नागरिकहरुको शिक्षा, स्वास्थ्य, सरसफाई र जीवनशैली परिवर्तनका लागि विभिन्न गैससहरुसँग सहकार्य गरेर काम गरिरहेको वडाध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया