२५ हजार बढी संक्रिय संक्रमित भए फेरि लकडाउन !

२५ हजार बढी संक्रिय संक्रमित भए फेरि लकडाउन !

काठमाडौं असोज ७ गते । देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको छ। यसलाई मध्यनजर गर्दै इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए। 

सँगै संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना नभएका विभिन्न क्षेत्र अझै एक महिनासम्म बन्द गर्ने निर्णय गरेको छ। चैत ११ गतेदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन साउन १ गतेसम्म भएको थियो। त्यसपछि जोरबिजोर प्रणालीमा केही खुकुलो बनाएपछि संक्रमण तिब्र बढेको भन्दै एक महिनासम्म निषेधाज्ञा गरिएको थियो। 

निषेधाज्ञाप्रति आक्रोश बढ्दै गएपछि सरकारले जनजीवनलाई सहज बनाउने भन्दै अहिले अधिकांश क्षेत्र खुला गरेको छ। निषेधाज्ञाको अन्त्य भएसँगै संक्रमणदर बढ्दै गएको छ। संक्रमण बढ्दै गएपछि मन्त्रालयले २५ हजार बढी सक्रिय  संक्रमित भएमा लकडाउनको लागि सिफारिस गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए। 

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६७ हजार ८०७ पुगेको छ। त्यसैगरी २४ घण्टामा १८ सय ९३ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार ९५४४ पुगेको छ। मन्त्रालयका अनुसार यो डिस्चार्ज हुनेको ७३ दशमलव ७ प्रतिशत हो।सँगै बुधबार सात जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।  

पछिल्लो २४ घण्टामा ९ हजार ४९७ जनाको पीसीआर परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा पीसीआर परीक्षणको संख्या ९ लाख ४४ हजार ४४७ पुगेको छ। अहिले देशभर १७ हजार ४१४ जना संक्रिय संक्रमित रहेका छन्। संस्थागत आइसोलेसनमा हुनेको संख्या ८ हजार २२८ पुगेको छ। अहिले क्वारेन्टाइनमा ७ हजार १०४ जना रहेका छन्। मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।  

प्रतिक्रिया