किसानलाई आलुको बीउ

किसानलाई आलुको बीउ

दैलेख असाेज ८ गते । पंचदेवल विनायक नगरपालिका–८ अछामको बारला गाउँकी धर्मा ढकालको परिवार परम्परागत खेतीमा निर्भर छ । उनको परिवार बारीमा उत्पादन भएको खाद्यान्नले जसोतसो जीविकोपार्जन गर्दै आएको छ । परम्परागत खेतीबाट गुजारा गर्दै आएको धर्माको परिवार अब भने व्यवसायिक तरकारी खेतीमा जुटेको छ । तरकारी खेतीका लागि उनले आलुको बीउ समेत सहयोग पाएकी छिन् । स्थानीय लालीगुराँस कृषक समुहकी सदस्य समेत रहेकी उनले पाएको २५ केजी आलुको बीउ व्यवसायिक रुपमा लगाउने बताउँछिन् । तरकारी खेतीका लागि तालिम समेत पाएको उनको भनाई छ ।
उनिजस्तै दैलेखको आठबीस नगरपालिका–३ कुमालखाडाकी नानीदेवी शाही उमेरले ४५ काटिन् । तर, तरकारी खेतीमा कम्मर कसेर लागि परेकी छिन् । उनले हालै आलुको बीउ समेत सहयोग पाएकी छिन् । तरकारी खेतीबाटै परिवारको खर्च चलाउँदै आएकी शाहि भन्छिन् ‘आलुको बीउ सहयोग पाएको छ, बारीभरी आलु फलाउने लक्ष छ ।’ नानीदेवी मात्रै होइन, आठबीस नगरपालिकाकी मना विष्टको बारीमा आलु राम्रै फल्छ । घरमा खानका लागि मात्रै आलु उत्पादन गर्दै आएकी विष्टले व्यवसायिक रुपमा आलु खेती गर्ने योजना सुनाइन् । ‘अहिले २५ केजी आलुको बीउ सहयोग पाएको छु,’ गौरीशंकर बासघारी कृषक समुहकी सदस्य समेत रहेकी मना भन्छिन् ‘आलुको बीउ किन्ने रकम म सँग थिएन्, बीउ नै सहयोग पाएपछि खुसी छु ।’
उनिहरुजस्तै आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिकाका एक सय ४० बढि किसानहरुले उन्नत जातको आलुको बीउ सहयोग पाएका छन् । डिसीए नेपालको आर्थिक सहयोगमा सोसेक दैलेखद्धारा सञ्चालित साकार परियोजनाले आलुको बीउ वितरण गरेको हो । परियोजनाले आठबीस नगरपालिका वडा नम्बर १ सिस्नेको लालीगुराँस कृषक समुह, ३ को कालिका एग्रो ग्रुप, गौरीशंकर बासघारी कृषक समुह, हिउचुली कृषक समुह र चेतनशील कृषक समुह, वडा नम्बर ५ को सालकोट र करेसाबारी कृषक समुह तथा अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलाको लालीगुराँस कृषक समुह र वडा नम्बर ९ को सगरमाथा कृषक समुहमा आबद्ध किसानहरुलाई आलुको बीउ बितरण गरेको हो । परियोजना संयोजक दिनेशकुमार न्यौपानेका अनुसार किसानहरुलाई १५ देखि २५ केजीका दरले पाँच हजार केजी आलुको बीउ वितरण गरिएको छ । ‘किसानलाई व्यावसायिक खेतीतर्फ डो¥याउँदै आलु खेतीमार्फत आत्मनिर्भर बनाउने र आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले आलुको बीउ वितरण गरिएको हो,’ न्यौपानेले भने । किसानहरुलाई तरकारी खेती सम्बन्धि तालिम समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया