प्रदेश राजधानी सार्ने विषयमा बुटवलमा विरोध प्रदर्शन

प्रदेश राजधानी सार्ने विषयमा बुटवलमा विरोध प्रदर्शन

बुटवल असोज १८ गते । बुटवलबाट दाङ राजधानी सार्न लागेको विरोधमा बुटवलमा बिहानैदेखि प्रदर्शन भएको छ । प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै प्रदर्शन गरिएको छ। जिल्ला प्रशासन रुपन्देहीले राजधानीको विरोधमा प्रदर्शन हुन थालेपछि शनिबार रातीबाट निषेधाज्ञा लगाएको थियो ।रुपन्देहीका उद्योगी व्यवसायी संघसंस्थाको आह्वानमा बुटवलको राजमार्ग चौराहबाट विरोध प्रदर्शन भएको छ । ‘प्रदेश राजधानी बुटवलमा कायम गर, ‘जनताको मत कदर गर, भन्ने नारासहित प्रदर्शन गरिएको हो । बुटवलकै ट्राफिकचोकमा गरिएको कोणसभामा बोल्दै उद्योगी व्यवसायीका नेताहरुले लुम्बिनी क्षेत्रका सांसदहरुलाई ‘हुतियारा’ भन्दै कडा आलोचना गरेका छन् । रुपन्देहीलाई राजधानी बनाउने भन्दै चुनावमा मत लिएर पूर्वाधार नै नभएको स्थानमा राजधानी तोकिएको भन्दै उनीहरुले सरकारको आलोचना समेत गरे । 

व्यवसायीहरुले पार्टीको ह्विप नमानेर जनताको पक्षमा उभिन आग्रह गरे । जनताले चाहे स्वतन्त्र उम्मेदवार बनाएर समेत संसदमा पठाउन सक्ने भन्दै हिम्मत गरेर आन्दोलनमा सहभागि हुन प्रदेश सांसदहरुलाई आग्रह गरे ।’हामी स्वतन्त्र उम्मेदवार बनाएर समेत जिताउने हिम्मत राख्छौं, पार्टीको ह्विप छाडेर जनताको पक्षमा उभिनुस, पश्चिम नेपाल वस व्यवसायीका अध्यक्ष दधि खरेलले भने, ‘नत्र जनतालाई छलकपट गरेको परिणाम भोग्नुपर्नेछ ।’

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले सांसदले खुट्टा नकमाई जनताको पक्षमा उभिन आग्रह गरे । मुलुक आर्थिक संकटमा परिरहेका बेला नयाँ स्थानमा पूर्वाधार बनाएर अर्बौं रकम सक्ने नीति लिन गम्भीर भुल भएको भन्दै त्यसलाई सच्याउन उनले आग्रह गरे ।  ‘मुख्यमन्त्रीले आन्दोलनसँग डराएर निषेधाज्ञा लगाउनु भएको छ, हामी गोली खान तयार छौं, आन्दोलनबाट विश्राम लिदैनौं,’ उनले भने । बुटवल उद्योग वाणिज्य संघका अध्यक्षले खेम हमालले पूर्वाधारयुक्त शहरलाई छाडेर बगरमा राजधानी बनाउने प्रस्ताव ल्याउन संघीयताको विपरीत रहेको बताए । उनले राजधानी सार्ने नै भए भोलि नै बुटवलका संघसंस्थाको भवन छाड्न उनले चेतावनी दिए ।

होटल व्यवसायी समुन्द्र जिसीले कोरोना संकटका बेला राजधानी तोकेर राजनीति लाभ लिन खोज्नु बेइमानी भएको बताए । उनले कुनै हालतमा राजधानी सार्न नदिन कडा रुपमा आन्दोलनमा होमिन आम नागरिकलाई आग्रह गरे ।कोणसभामा रुपन्देही उद्योग संघका कार्यबहाक अध्यक्ष माधव पौडेल, फुलबारी विकास समितिका अध्यक्ष खेम लुईटेल लगायतले बोल्दै बुटवलमा राजधानी बनाउन सशक्त भएर उत्रिन आह्वान गरे ।

व्यवसायीले सोमबार लुम्बिनी बन्दको आह्वान गर्दै प्रदेशसभा घेराउ गर्ने र सांसदलाई प्रवेश नदिने बताएका छन् । आइतबार नेपाली कांग्रेसले रुपन्देही बन्द आह्वान गरेको छ । प्रदर्शन सुरु भएपछि बुटवलमा कडा सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपालगञ्जबाट २ सय प्रहरीको टोली बुटवल आएको छ । सडकमा करिब तीन सय प्रहरी परिचालन गरिएको छ । प्रदेशका हरेक मन्त्रालयअघि सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रतिक्रिया