आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै

आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै

काठमाडौं कात्तिक १४ । आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।

शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।

आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजार गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैं र नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको जनाइएको छ । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । आजदेखि दसैँ पर्व सम्पन्न भई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको मानिन्छ । तिहारको स्वागतमा आकाशदीप बाल्ने गरिन्छ ।

आकाशदीप दान शनिबारदेखि

आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५:२५ बजेसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको उनले बताए । शनिबार पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७:३३ बजेसम्म छ ।

चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले शनिबार परेको हो । कार्तिक स्नान र आकाशदीप दान पनि शनिबारदेखि नै शुरु हुने छ ।

कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलन छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार शनिबारदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ ।

प्रतिक्रिया