काँग्रेस सांसद सूर्यबहादुर केसीको निधन

काँग्रेस  सांसद सूर्यबहादुर केसीको निधन

पोखरा कात्तिक १८। प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सुगर र प्रेसरको समस्याबाट गुज्रिरहेका केसीको सोमबार राति निधन भएको हो । केसीको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका केसी पोखराका पूर्व प्रधानपञ्च पनि हुन् । पहिलो संविधान सभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए ।नेपालकै प्रतिष्ठित उद्योगीका रुपमा चिनिएका केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुन् । हिमश्री फुड्सका अध्यक्ष केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो ।

रारा चाउचाउ दक्षिण एसियाकै पहिलो मानिन्छ । त्यसको केही महिनापछिमात्र भारतमा म्यागी चाउचाउको उत्पादन सुरु भएको थियो ।निर्माण व्यवसायीका रुपमा व्यावसायिक जीवन थालेका केसी परिवारको जलविद्युत, बैंकिङ, खाद्य क्षेत्रमा लगानी छ । सुगर, प्रेसरको समस्या र चिसोको असरलेसमेत ६३ वर्षीय केसीको निधन भएको हुन सक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया