चामल ढुवानीकर्ता वासुदेव शर्मा पक्राउ

चामल ढुवानीकर्ता वासुदेव शर्मा पक्राउ

सुर्खेत कात्तिक १८ गते । कर्णालीको मुगु पठाउनुपर्ने चामल भक्तपुरतर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको हो ।

उनको स्वास्थ्य परीक्षणपछि म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा लगिने एसपी भट्टले बताए । प्रहरीले कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने गरी प्रक्रिया अघि बढाएको छ । प्रहरीले चामल नियन्त्रणमा लिनेबित्तिकै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गएका थिएनन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार हुनुभन्दा प्रहरीमा गएर अनुसन्धानमा सहयोग गर्न सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतमार्फत शर्मालाई खबर पठाएका थिए । सोहीअनुसार प्रहरी कार्यालय पुगेका शर्मालाई प्रहरीले नियन्त्रणमा राखेको हो ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आपूर्तिकर्ता शर्मा ढुवानी सेवाका सञ्चालक शर्माले २ सय ५० क्विन्टल चामल भक्तपुर पठाउने क्रममा बिहीबार प्रहरीले सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो । उनले उक्त चामल मुगुको कालैका लागि कम्पनीको गोदामबाट उठाएका थिए ।

शर्माले गोदामबाट १ हजार १ सय क्विन्टल चामल उठाएका थिए । कालै प्रहरी चौकीका असई नन्दबहादुर शाहीका अनुसार मंगलबार ६० क्विन्टल अरुवा मोटो चामल कालै पुगे पनि ढुवानीकर्ताका प्रतिनिधि नहुँदा वितरण भने गरिएको छैन । ‘दुईवटा ट्याक्टरमा चामल ल्याएर छोडिएको छ तर ठेकेदारका प्रतिनिधि नहुँदा वितरणको काम भएको छैन,’ उनले भने ।

सुर्खेतका एसपी भट्टका अनुसार शर्माको वीरेन्द्रनगरस्थित गोदाममा करिब २ सय बोरा (६० क्विन्टल) चामल रहेको छ । बाँकी (करिब ७ सय ३० क्विन्टल) चामल कहाँ बिक्री भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया