अमेरिकाले दियो सय थान भेन्टिलेटर

अमेरिकाले दियो सय थान भेन्टिलेटर

काठमाडौँ : कोभिड-१९ विरुद्धको लडाईंमा सहयोग पुर्याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरेका हुन् ।

भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिबद्ध रहेको बताए । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्याउने उनले बताए । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको लडाईंका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै वितरण सुरु गरिएको बताए । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने र बाँकी रहेका भेन्टिलेटर हरेक सरकारी अस्पताललाई दुई—दुई वटाका दरले वितरण गरिने उनले जानकारी दिए ।

भेन्टिलेटरका अतिरिक्त यूएसएआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । यूएसएआईडीले अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको छ ।

प्रतिक्रिया