चुप्रा र तल्लो डुङ्गेश्वरमा बन्यो प्रहरीको आफ्नै भवन

चुप्रा र तल्लो डुङ्गेश्वरमा बन्यो प्रहरीको आफ्नै भवन

प्रहरी चौकी चुप्राको भवन उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक बसन्तकुमार पन्त ।

हिक्मतबहादुर नेपाली
दैलेख :
डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटा (साविकको बेलपाटा गाविस) को चुप्रामा २०६९ ताका प्रहरी चौकी स्थापना हुनुपर्छ भन्दै स्थानीयले माग राखे । स्थानीयको मागलाई मध्यनजर गर्दै तत्कालै अस्थायी प्रहरी चौकी स्थापना भयो । प्रहरी चौकी स्थापना भएयता शान्ति सुरक्षामा खटिँदै आइरहेका प्रहरीले भाडाको घरबाट नागरिकहरुलाई सेवा दिँदै आएका थियो । मासिक रुपमा घरभाडा तीर्न समेत वडा कार्यालयलाई गुहार्नुपथ्र्यो । भवन नहुँदा विभिन्न समस्या भोग्दै आएका प्रहरीका लागि हालै सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ । प्रहरी चौकी चुप्राले ८ बर्षपछि आफ्नै भवन पाएको हो । लामो समयसम्म भाडाको घरबाट सेवा गरिरहेका प्रहरी भवन निर्माण सम्पन्न भएपछि आफ्नै प्रहरी कार्यालयमा बसेर सेवा गर्न थालेका छन् ।
डिएफआईडीको सहयोगमा युएनओपिएस प्रोजेक्टले प्रहरीका लागि भवन निर्माण गरेको हो । डुङ्गेश्वर गाउँपालिका–१ चुप्रास्थित प्रहरी कार्यालय र आवास भवन २ करोड ४१ लाखको लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । भवनमा १३ वटा कोठाहरु रहेका छन् । युएनओपिएस प्रोजेक्टले झण्डै चार करोड ४७ लाखको लागतमा दैलेखको दुई वटा प्रहरी चौकीको भवन निर्माण गरेको डिएसपी श्रेष्ठले जानकारी दिए । चुप्रा प्रहरी चौकीसँगै गुराँस गाउँपालिका–२ स्थित तल्लो डुङ्गेश्वर प्रहरी चौकीको भवन समेत निर्माण गरिएको हो । डिएसपी श्रेष्ठका अनुसार २ करोड ६ लाख लागतमा डुङ्गेश्वर प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको हो । भवनमा १२ वटा कोठाहरु रहेका छन् । ‘दुई वटा प्रहरी चौकीका लागि नयाँ भवन निर्माण सम्पन्न भएको छ, डिएसपी श्रेष्ठले भने ‘अब जनतालाई सरल र सहज रूपमा सेवा दिन सजिलो हुनेछ ।
हालै निर्माण सम्पन्न भएका प्रहरी चौकी चुप्रा र प्रहरी चौकी तल्लो डुङ्गेश्वरको भवन उद्घाटन गरिएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार पन्तले दुई वटै भवनको शिलालेख अनावरण र रिवन काटेर उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक पन्तले प्रदेशको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका छन् । कर्णालीका प्रहरीका लागि डिएफआईडीको सहयोगमा युएनओपिएस प्रोजेक्टद्धारा चार वटा भवन निर्माण भएको उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक पन्तले भने ‘प्रहरी कर्मचारीको मनोबल उठाउन भवनहरु बनाउन आवश्यक छ ।’ उनले निष्पक्ष र पारदर्शी रुपमा सेवा प्रवाह गर्न मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया