दैलेखमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

दैलेखमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

दैलेख : प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले दैलेखमा पनि सरकारविरुद्ध विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखको आयोजनामा काँग्रेस कार्यकर्ताले सदरमुकाममा विरोध प्रर्दशन गरेका हुन् । काँग्रेसका नेता तथा कार्यकर्ताहरुले दैलेख सदरमुकामस्थित गणेश चोकमा जम्मा भएर विरोध र्याली गरेका छन् । बाजागाजा सहितको र्यालीमा उल्लेख्य संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताको सहभागीता थियो । गणेश चोकबाट सुरु भएको र्याली डेकेन्द्र चोक, देवकोटा चोक हुँदै स्थानीय टुडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो । 

कोण सभालाई काँग्रेसका जिल्ला स्तरिय नेताहरुले सम्बोधन गरेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगर्त दैलेखमा पनि प्रर्दशन गरिएको नेपाली काँग्रेस दैलेखका उपसभापति रिता शाहीले बताइन् । वर्तमान सरकारको सर्वसत्तावादी प्रवृति, दमन, भ्रष्टाचार, कोरोना नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मुल्यबृद्धि, महिला हिंसा, कुशासन, अभिनायकवादी शैलीविरुद्ध विरोध प्रर्दशन गरेको उपसभापति शाहीको दाबी छ ।

प्रर्दशनबारे संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस दैलेखका सचिव भुपेन्द्र शाहीले सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको बताए । देश कुन अवस्थामा छ भन्नेबारे ध्यान नदिने, हत्या हिंसा, बलात्कार, भ्रष्टाचार निर्मुल गर्न नसक्ने र निर्मला हत्या देखि हालसम्म काण्डै काण्डै फसेको सरकारविरुद्ध सडकमै पुगेर प्रर्दशन गर्नुपरेको काँग्रेस दैलेखका सचिव टेकबहादुर कटुवालले बताए । उनले सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दाबी गरे ।

नेपाल महिला संघका अध्यक्ष सिता रानाले सरकारविरुद्ध नेपाली काँग्रेस संयम तर सशक्त ढंगले अघि बढेको प्रतिक्रिया दिइन् । लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत जनताले राखेको सार्थक परिणाम वर्तमान सरकारले पुरा गर्न नसकेको उनको आरोप छ । काँग्रेसकी महिला नेतृ निर्मला थापाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको दाबी गर्दै अब सरकारविरुद्ध सशक्त ढंगले विरोधमा उत्रिने बताइन् । युवा नेता खगेन्द्र सुनारले विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात मात्रै भएको दाबी गरे ।

प्रतिक्रिया