कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट २२ जनाकाे मृत्यु

        ज्वाला सन्देश संवाददाता   |   प्रकाशित मितिः सोमवार, मंसिर २९, २०७७     ::: 254 पटक पढिएको   |  

सुर्खेत : सुर्खेत वीरेन्द्रनगरका थप एकजना कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु भएको छ । वीरेन्द्रनगर-९, निवासी ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ती पुरुषको काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार यही मंसिर २७ गते राति ११ बजे मृत्यु भएको थियो । उनको २८ गते बाँकेको नेपालगञ्जमा शव व्यवस्थापन समेत भैसकेको छ ।मंसिर ८ गते कोरोना पुष्टि भएका ती पुरूष होम आइसोलेशनमा बस्दै आएका थिए । उनलाई दुईदिन पछि बाँकेको नेपालगञ्जमा रिफर गरिएको थियो ।

उनको श्वासप्रश्वासमा समस्या भएपछि मंसिर १४ गते एयर लिफ्टिङ मार्फत काठमाडौं पुर्‍याइएको थियो ।प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २२ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*