बीबीसी मास्टर सेफ प्रोफेसनल्स- २०२० को शीर्ष ३ मा सन्तोष साह

बीबीसी मास्टर सेफ प्रोफेसनल्स- २०२० को शीर्ष ३ मा सन्तोष साह

काठमाडौं : नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’को शीर्ष तीनमा प्रवेश गरेका छन् । उनी बुधबार बेलुका प्रसारित कार्यक्रमबाट शीर्ष तीनमा छनोट भएका हुन् । नेपाली खानालाई विश्वमा चिनाउनेल लक्ष्य राख्ने सन्तोषका लागि बुधबार आफ्नो पि्रय मान्छेका लागि खाना बनाउन दिइएको थियो । बुधबार उनले आफ्नी आमालाई सम्झिँदै खाना बनाए ।उनले बुधबारको कार्यक्रममा पुरी,भुटेको खुर्सानी, बासी भात शैलीमा भुटेको चिउरा, गंगटाको करी, साँधेको भटमास, रायोको साग, खिरलगायतका परिकार बनाएका थिए । उनले यी सबै खाना बनाउन आफूले आमाबाट सिकेको बताए ।

सन्तोष १२ वर्षको हुँदा उनी खोलाको किनारामा श्रम गर्न जान्थे । गरिबीमा हुर्किएका उनलाई दैनिक गुजारा चलाउनका लागि काममा जानुको विकल्प पनि थिएन । काम गर्न गएका उनलाई आमाले टिफिन बाकसमा राखेर खानेकुरा लगिदिन्थिन् । आमालाई सम्झिँदै उनले भने, ‘मेरो जीवनमा धेरै मानिसहरु महत्वपूर्ण छन् तर मेरी आमा सबैभन्दा उच्च स्थानमा छिन् । त्यसैले म यो सबै मेरी आमालाई समर्पित गर्छु ।’

बुधबार उनले निर्णायकहरुलाई पनि आफूले बनाएको खाना टिफिनको बाकसमा राखेर दिएका थिए । यसअघि उनले कोदोको खिर, सिस्नो र आलुको तरकारी, मकैको रोटी, तामाको अचार, यमोरीलगायतका नेपाली खानाहरु उनले निणर्ायकहरुलाई खुवाइसकेका छन् । उनले बनाएका खानाहरु निर्णायकहरुले पनि मन पराउँदै आएका छन् । बुधबारको कार्यक्रममा सन्तोषले भादगाउँले टोपी लगाएका थिए । सन्तोष विश्वचर्चित यो कार्यक्रमको फाइनलमा पुग्ने पहिलो नेपाली हुन् । यो कार्यक्रममा ३२ प्रतियोगीहरु हुन्छन् ।

प्रतिक्रिया