संसद् विघटनको निर्णयविरुद्ध कांग्रेसले आन्दोलन गर्ने

संसद् विघटनको निर्णयविरुद्ध कांग्रेसले आन्दोलन गर्ने

काठमाडौँ : प्रमुख प्रतिपक्ष कांग्रेसको पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । आइतबार दिउँसो बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट संसद् विघटनको निर्णय लिएको भन्दै सडकमा जाने निर्णय गरेको हो । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले पदाधिकारी बैठकले सरकारको गैरसंवैधानिक र अलोकतान्त्रिक निर्णयविरुद्ध सडकमा जाने निर्णय लिइएको कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार आन्दोलनको स्वरुप भने मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले तय गर्नेछ ।

कांग्रेस पदाधिकारी बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सरकारले गरेको सिफारिसप्रति पनि असन्तुष्टि जनाएको छ । नेता पौडेलले भने अपारदर्शी र संसदीय प्रक्रियाविपरीत संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिस कांग्रेसले नमान्ने बताए । उनले संसद्बाट अनुमोदन नभएसम्म राष्ट्रपतिबाट शपथ खुवाउन नमिल्ने भएकाले सिफारिस भएकाहरुलाई पदमा नबस्न आग्रह गर्ने बताए ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्तिमार्फत मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको जनाएका छन् ।आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । दिउँसो राष्ट्रपति भण्डारीले संसद् विघटन गर्दै निर्वाचन मिति घोषणा गरेकी हुन् ।

प्रतिक्रिया