दैलेखमा ७२ मानव अधिकार उल्लंघनका घटना

दैलेखमा ७२ मानव अधिकार उल्लंघनका घटना

दैलेख : डुङ्गेश्वर गाउँपालिका–६ की २१ बर्षीया सुनिता विकको लटालीको जंगलमा हत्या भयो । सुनिताका मृत्यु प्रकरणमा पति २३ बर्षीया प्रेमबहादुर विकले भैसी बाँध्ने जंगलमा हत्या गरेको आरोप लाग्यो । हाल आरोपीतविरुद्ध अभियोग पेश भईसकेको छ । नौमूले गाउँपालिका तोली राइलीका ३९ बर्षीया भूपेन्द्रबहादुर शाहीलाई छिमेकीहरुले नै कुटपिट गरी हत्या गरेको आरोप लाग्यो । उक्त घटनामा आरोपित तीनै जना थुनामा छन् । यी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार बर्ष पुस्तकका लागि संकलित घटना मध्ये प्रतिनीधिमुलक घटना मात्रै हो ।
इन्सेकले हत्या, बलात्कार, बाल यौन दुव्र्यबहार, बालबालिका कुटपिट, घरेलु हिंसा, बहुविवाह, आत्महत्या दुरुत्साहन अभद्र व्यवहार देखि क्वारेन्टाइनमा कुटपिटसम्मका अधिकार उल्लंघन तथा ज्यादतीको घटनाहरु संकलन गरेको छ । गत जेठ ३१ गते त्रिभुवन मावीको क्वारेन्टाइनमा राखिएका कोरोना संक्रमितहरुले विद्रोह गरेको आरोपमा प्रहरीले कुटपिट गरेको घटना समेत इन्सेकले मानव अधिकार बर्ष पुस्तकका लागि संकलन गरेको छ ।
इन्सेक जिल्ला प्रतिनीधि अमर सुनारका अनुसार पछिल्लो एक बर्षको अवधीमा मानवअधिकार उल्लंघन र ज्यादतीका ७२ वटा घटनाबाट ८० जना पीडित बनेका छन् । एक बर्षको अवधीमा पाँच वटा हत्याका घटना भएको छ । यस्तै १२ वटा बलात्कार, आठ वटा बालविवाह पाँच वटा बलात्कार उद्योग, दुई वटा बाल यौन दुव्र्यवहार, दुई वटा बालबालिका कुटिपिट, तीन वटा घरेलु हिंसा, तीन वटा आत्महत्या दुरुत्साहन, २५ वटा बहुविवाहका घटना घटेको पाईएको छ । त्यस्तै दुई स्थानको क्वारेन्टाइनमा कुटपिटको घटनामा ६ जना पीडित भएका छन् भने पाँच वटा अभद्र व्यवहारको घटनामा नौ जना पीडित भएका इन्सेक प्रतिनीधि अमर सुनारले जानकारी दिए ।
मानव अधिकार बर्ष पुस्तक घटना बार्षिक पूर्व समिक्षामा जिल्ला न्यायाधिश दण्डपाणी लामिछानेले अदालतसम्म नपुगेका मानव अधिकार उल्लंघनका घटनाहरु समाजमा भयावह रहेको बताए । पीडा सहेर नबस्ने र न्यायको खोजी गर्ने पीडितहरुको संख्यामा बढोत्तरी भएको न्यायाधिश लामिछानेको भनाई छ । ‘कुनै पनि घटनामा पहिलो अनुसन्धानकर्ता समाज हो,’ न्यायाधिश लामिछानेले भने । न्यायाधिश लामिछानेले न्यायमा पहुँच नभएकाहरु भने समाजमै दबेर बसेको उल्लेख गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले मानव अधिकार उल्लंघनका घटनाहरु संकलन गर्ने मात्र नभई त्यस्ता घटनाहरु निरुत्साहित गर्ने क्रियाकलाप सञ्चालनमा जोड दिए । मानव अधिकार समुहका संयोजक रेखा थापाले समाजमा मानव अधिकार उल्लंघनका घटनामा पीडा सहेर बस्नेको संख्या अत्याधिक रहेको बताइन् । मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई कानुनी दायरमा ल्याउनु पर्नेमा संयोजक थापाको जोड छ ।

प्रतिक्रिया