‘असंवैधानिक कदम नसच्याएसम्म संघर्ष’

‘असंवैधानिक कदम नसच्याएसम्म संघर्ष’

दैलेख : नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम नसच्याएसम्म संघर्ष जारी रहने जनाएको छ । प्रधानमन्त्रीले संसद् विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ लगेको भन्दै त्यसलाई नसच्याउञ्जेलसम्म संघर्ष जारी रहने यो समुहले जनाएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहको जिल्ला कमिटी बैठकले गरेको निणर्यहरु सार्वजनिक गर्न बिहीवार दैलेखमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो । संसद् विघटनविरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले मंगलबार दैलेखमा पनि विशाल विरोध प्रदर्शन गरेको थियो ।
पत्रकार सम्मेलनमा नेकपा प्रदेश कमिटि सदस्य एवं कर्णाली प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले प्रधानमन्त्रीले असंवैधानिक कदम नसच्याए र गलत गतिविधि नरोके जनताले सडकबाटै प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई फाल्ने ठोकुवा गरे । उनले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले निर्वाचन गराउन नसक्ने दाबी गरेका छन् । दाहाल–नेपाल समुह निर्वाचन देखि डराएको हो त भन्ने पत्रकारहरुको पश्नमा थापाले भने ‘हामी निर्वाचन देखि डराएका होइनौँ, निर्वाचनमा जाने विधि र प्रक्रिया गलत हो ।’ उनले चुनावको नाममा प्रधानमन्त्री ओलीले संकटकाल लगाउने तयारी गरेको आरोप लगाए । देशलाई बर्बाद पार्ने खेलमा चुनावको नाटक देखाएको उनको टिप्पणी थियो ।
नेकपाकै प्रदेश कमिटि सदस्य एवं प्रतिनीधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताइन् । ‘संविधान कोही कसैको पेवा होइन,’ उनले भनिन् ‘संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरी प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लादेर निरंकुश शासनको सुरुवात गर्न खोजेका छन् ।’ उनले संसद् पुनःस्थापना गराएरै छोड्ने दाबी गरिन् ।
नेकपाका जिल्ला सचिव प्रेमबहादुर कटुवालको संयोजकत्वमा जिल्ला सह–इन्चार्ज तथा केन्द्रिय सदस्य राजबहादुर बुढा र अर्को केन्द्रिय सदस्य विष्णु रिजालको उपस्थितीमा भएको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएको संसद विघटन जस्तो असंवैधानिक कदमको घोर भत्सना गर्ने निणर्य पारित गरेको बताइएको छ ।
बैठकले जिल्ला सह–इन्चार्ज तथा केन्द्रिय सदस्य राजबहादुर बुढाको संयोजकत्वमा २५१ सदस्यीय प्रतिगमनका विरुद्ध संघर्ष समिति गठन गरेको सचिव कटुवालले जानकारी दिए । उनका अनुसार बैठकले जिल्लाका विभिन्न स्थानीय तहमा आन्दोलन र राजनीतिक कमाण्डका लागि नयाँ जिम्मेवारी दिने निणर्य गरेको छ ।
जस अनुसार महाबु गाउँपालिकामा सावित्री मल्ल, चामुण्डाविन्द्रासैनी नगरपालिकामा थिरबहादुर कार्की र सुशिल थापा, गुराँस गाउँपालिकामा पार्वतीकुमारी विशुन्के, आठबीस नगरपालिकामा तर्कबहादुर शाही र योगेन्द्रबिक्रम शाही, ठाटीकाँध गाउँपालिकामा तर्कबहादुुर शाही, दुल्लु नगरपालिकामा बरुनाथ योगी, थीरबहादुर कार्की र शुसिल थापा, नारायण नगरपालिकामा टेकबहादुर खाँण र सावित्री मल्ल, भैरबी गाउँपालिकामा ललिता बिसी, थिरबहादुर कार्की र शुसिल थापालाई जिम्मेवारी दिने निणर्य गरी अनुमतीका लागि प्रदेश कमिटिमा पठाईएको सचिव कटुवालले जानकारी दिए । बैठकले आगामी पुष २५ गते प्रतिगमनका विरुद्ध दुुल्लुमा विरोध सभा गर्ने निणर्य समेत गरेको छ ।
निणर्यहरु सार्वजनिक गर्दैै सचिव कटुवालले जिल्लाका स्थानीय तहमा बैठक सम्पन्न गर्नका लागि मिति र कार्यविभाजन गरेको जानकारी दिए । बैठकले जिल्लाको ११ वटै स्थानीय तहमा बैठक गर्ने निणर्य गरेको हो । निणर्य अनुसार बिहीवार दुल्लुमा बैठक भएको बताईएको छ । सचिव कटुवालका अनुसार नौमूले गाउँपालिका र गुराँस गाउँपालिकामा आज पुष १७ गते, नारायण नगरपालिकामा, महाबु गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा भोली पुष १८ गते, ठाटीकाँध गाउँपालिकामा १९ गते, आठबीस नगरपालिकामा २० गते र भैरबी गाउँपालिकामा २२ गते बैठक गर्ने निणर्य भएको छ ।

प्रतिक्रिया