जीवनको महत्व सिकाउने वर्ष

          |   प्रकाशित मितिः शुक्रबार, पुस १७, २०७७     ::: 235 पटक पढिएको   |  

डा. नम्रता पाण्डे- अंग्रेजी पात्रोअनुसार सन् २०२० ले हामीलाई विभिन्न भोगाइ र अनुभव दिलाउँदै बिदा लिएको छ। सँगसँगै नयाँ वर्ष २०२१ को स्वागत गरिँदै छ। सन् २०२० को सुरुवातीदेखि नै संसारभर नै कोरोना कहर भोग्न बाध्य हुनेले सन् २०२० लाई प्रतिकूलताका रूपमा लिनु स्वाभाविक हो। तर पनि यो वर्ष मानिसलाई जीवनको महत्त्व राम्ररी सिकाउन सफल भएको मान्नुपर्छ।

वर्षभरिको आधा समय बन्दाबन्दीमै बिताउन बाध्य हुनुपर्दा अघिल्ला वर्षका जीवनशैली, जीवन र मृत्युको बोध, महामारी र परिवार, स्वास्थ्य र जीवन, शिक्षा र जीवन, प्रकृति र मानवीय स्वभाव धेरै विधाबाट जीवनबोधलाई नजिकले हेर्न सिकायो। प्रत्येक वर्ष क्यालेन्डरका पाना परिवर्तन हुँदैमा, दिन, गते र बार परिवर्तन हुँदैमा मानवीय स्वभाव परिवर्तन भएको पाइन्नथ्यो। तर सन् २०२० को कोरोना कहरले त्यो मानवीय स्वभावमा केही सकारात्मक परिवर्तन ल्याउन सकेको अनुमान गर्न सकिन्छ :

विज्ञान र जीवन
सामान्य भाषामा पनि हामी भन्ने गर्दथ्यौं– विज्ञानले प्रमाणित गरेको; विज्ञानअनुसार यस्तो हुन्छ; विज्ञानले ल्याएको परिवर्तन आदि–आदि। जब कोरोना कहरले वैज्ञानिक, चिकित्सक, अनुसन्धानकर्ता, विशेषज्ञ कोही छाडेन। सबैलाई एउटा त्रास र संयमको जीवनमा फर्कन बाध्य बनायो। तब थाहा लाग्यो– विज्ञानलाई पनि चुनौती थपियो। समयचक्रमा कोरोनाभन्दा खतरनाक महामारी पनि आएका थिए होलान् तर यो समय यस्तो रह्यो– अरूको जीवन बचाउने चिकित्सकहरू आफ्नै जीवनलाई कसरी बचाउन सकिन्छ भनी मुख्य चुनौती र संघर्षका साथ लागे। सम्पन्न राष्ट्रका होऊन् या विपन्न राष्ट्रका मानिस, विज्ञानलाई घरभित्रै अनुभूति गर्न बाध्य भए।

ऐनमौकाको महामारी र परिस्थितिले भौतिक सम्पत्तिा पहिचान गर्न माहिर मानिसलाई आफ्नो आन्तरिक सम्पदाबारे बोध गर्न धेरथोर जागृत गराएको छ।

कोरोना महामारीले सारा संसारका मानिसलाई घरभित्र थुनेर विज्ञानले समेत चुनौती पाइरहँदा जीवनजत्तिको महत्त्व अरू छैन भन्ने अन्तिम निर्णयमा सबै पुगे। एउटा वैज्ञानिक बनेर नाम कमाउनु कति ठूलो कुरा ठानेको मानव समाजमा जीवन बचाउन पाए त अरू के चाहियो र भन्ने अवस्थामा पुगे। आफ्नो जीवन र जीवनशैली बोध गर्न नभ्याउनेलाई जीवनलाई फर्केर हेर्न सिकायो सन् २०२० ले। त्यसैले अरू वर्षभन्दा यो स्मरणीय वर्ष मानिन्छ।

प्रकृति र जीवन
सामान्य अवस्थामा आफ्नै रोजीरोटी, सफलता र उन्नतिको आपाधापीमा दौडिने मानिस प्रकृतिबाट टाढा भइरहेको थियो। मानवनिर्मित साधन र स्रोतले प्रकृतिको दोहन भइसकेको थियो। प्रकृति प्रदूषित र वातावरणमा असन्तुलनको स्थिति देखिन थालेको थियो। जब कोरोना कहरले मानिस घरभित्र थुनिन बाध्य भए तब प्रकृति खुलेर हाँस्न पायो। जीवजन्तु, कीटपतंग र चराचुरुंगीले स्वतन्त्रताको अनुभूति गरेको महसुस गर्न सकिन्थ्यो। मानिस घरभित्र थुनिँदा जीवजन्तु फराकिला सडक र चौरमा निस्किएर आफ्नो स्वतन्त्रता महसुस गरिरहेका देखिए। मानिस टाढा हुँदा प्रकृति खुल्न पाउने यो कस्तो दुर्भाग्य ? संसारभरका पत्रकारले प्रकृति रमाएको, यसको सौन्दर्यको तस्बिर र समाचार प्रसारित गरिरहँदा घरभित्र थुनिएका मानिसले जीवन र प्रकृतिको महत्त्व थाहा पायो। स्वच्छता, स्वछन्दता, सुन्दर प्रकृति नै मानिसको आयुस“ग जोडिएको छ भन्ने महसुस हुन थाल्यो। धेरै समयको अन्तरालमा मानिसले यो भिन्नताको महसुस गर्न पायो।

जीवनमा सृजनशीलता
जब मानिस घरबाहिर निस्कन नपाउने गरी बन्दी भयो तब उसले गर्ने भनेको काम नै आफूभित्रको सृजनशीलता प्रस्फुटन गराउनु थियो। हातका सीप, कलाकौशलता होस् या भान्छामा खाना बनाउने नयाँ तरिकाको अभ्यास होस्, गीतसंगीत सुन्ने या गुन्गुनाउने होस् या चित्रकला र करेसाबारीमा फलफूल, तरकारी फलाउने काम सबैमा नयाँ सृजना प्रस्फुटन हुन पायो। साहित्य एवं दार्शनिक किताब अध्ययन गर्नु, कथा, कविता कोर्नु, कहिल्यै महत्त्व थाहा नपाएको, महत्त्व नदिएको र समय नभएको काममा एउटा छुट्टै सृजनशीलता थपियो।

खेतीकिसानीमा अल्छी गर्नेहरू र आलसी व्यक्तिसमेत बाँझो रहेका जमिन हराभरा बनाउन कस्सिए। जीवनमा कृषि र कृषि उत्पादनको महत्त्व अरू प्रस्ट भयो। मितव्ययिता, संयमता, समझ र जागरणको अभ्यास बढ्यो। सरसफाइ, स्वास्थ्य र खानपान कलामा सुधार आयो। परिवारस“गै बसेर नातिनीदेखि हजुरआमासम्मले समय बिताउन र एकअर्कास“ग सिक्ने र सिकाउने अवसर मिल्यो। नोकरी गर्नेले घरबाट काम गर्नुपर्ने अवस्था आयो। विद्यार्थीले घरबाटै पढे। यसले प्रविधि प्रयोगमा समेत अरू सृजनशीलता थपियो। भर्चुअल मिटिङ, संवाद, कार्यक्रम आदिले परिवारकै सदस्य बीचमा एकअर्कामा सहयोगी भावनाको विकास भयो। व्यक्ति नकारात्मकताबाट सकारात्मक र प्रेमल हुन जान्यो। अन्यथा, समय र परिस्थिति अनुकूल भइरहँदा व्यक्तिको सृजनात्मकता झन्डै हराइसकेको थियो। समय सधैं मेरैअनुसार चल्छ भन्ने अहंकार बोध गराउन सक्यो र अस्तित्वको लीला के छ त्यो बोध गर्न सक्ने बनायो।

ध्यान, योग र स्वास्थ्यप्रति सचेतना
जीवनभरको आपाधापी र भागदौडले आफ्नो स्वास्थ्यको ख्याल गर्न भुल्ने मानिसलाई कोरोना कहरमा समय मिल्यो अनि ध्यान, योग र स्वास्थ्यको ख्याल राख्ने अवसर मिल्यो। जब पनि प्रतिकूलताको स्थिति आउँछ तब मनोबल उच्च राख्नुपर्छ; सकारात्मक हुनुपर्छ र परिस्थितिलाई परिवर्तन गर्न नसके पनि मनस्थितिलाई सही राख्नुपर्छ भन्ने जागरणको विकास भयो। ध्यानको अभ्यासले स्वयंमा स्थिर हुन सक्नु नै आन्तरिक शान्ति र पूर्णताको अनुभव रहेछ भन्ने बोध जाग्न थाल्यो।

ऐनमौकाको महामारी र परिस्थितिले भौतिक सम्पत्ति पहिचान गर्न माहिर मानिसलाई आफ्नो आन्तरिक सम्पदाबारे बोध गर्न धेरथोर जागृत गराएको छ। बन्दाबन्दीको समयले खुलस्त पारिदियो कि ध्यानको कला जान्ने व्यक्तिले घरभित्र सजिलै समय बिताउन सक्दो रहेछ। आत्म एकान्तमा बस्नुको अर्थ नै स्वयंमा स्थित हुनु र स्वयंको स्वभावमा जिउनु रहेछ। यो मानिसको स्वभावै हो र यही नै योगको मर्म पनि।

योग एक शारीरिक क्रिया मात्र नभएर सम्पूर्ण स्वास्थ्यको परम विज्ञान र कला पनि हो। योगले हाम्रो पूर्ण स्वास्थ्यको रक्षा गर्छ र जीवनलाई सुखी, शान्त र समृद्ध बनाउन मद्दत गर्छ। मन सधैं अरूमाथि ध्यान लगाउँछ भने ध्यान आफूप्रति ध्यान लगाउने कला हो। अरूलाई ध्यान दिनु प्रेम हो भने स्वयंलाई प्रेम गर्नु ध्यान हो। हाम्रो जीवनमा समस्या छन् भने ती सबको कारण हो ध्यान नहुनु। ध्यानको अभ्यास नगरिनु र ध्यानलाई समय नछुट्ट्याउनु। सन् २०२० को सकारात्मक उपलब्धि यो रह्यो कि धेरैभन्दा धेरै व्यक्तिले ध्यान, योग र आफ्नो स्वास्थ्यको महत्त्व जान्न र बुझ्न सके।



Leave a comment

Your email address will not be published.


*