कोरोना परीक्षणमा शुल्क, सेवाग्राहीले पोखे असन्तुष्टी

कोरोना परीक्षणमा शुल्क, सेवाग्राहीले पोखे असन्तुष्टी

दैलेख : कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न देशभरका सरकारी अस्पतालमा निशुल्क गरिएको थियो । तर, दैलेख अस्पतालले प्रतिव्यक्ति दुई हजार लिईरहेको थियो । कोरोना परीक्षणमा शुल्क लिइएको भन्दै सेवाग्राहीहरुले असन्तुष्टी पोखेका छन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको स्वास्थ्य सेवामा नागरिकको पहुँच सम्वन्धी छलफल कार्यक्रममा नागरिक समाजका अगुवाहरुले असन्तुष्टी पोखेका हुन् । छलफलमा सहभागीहरुले सरकारले निशुल्क दिने ७३ प्रकारका औषधी समेत जिल्ला अस्पताल आफैले चलाएको औषधि पसलमा किन्न लगाउने गरेको, अपराध र दैवीप्रकोप घटना पोष्टमार्टन गर्न शुल्क लिने गरेको गुनासो गरेका छन् ।
सहभागीहरुले ध्यानाकर्षण गराएपछि स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी नन्दलाल जैसीले तिर्न सक्दिन भनी निवेदन दिनेहरुलाई मात्र निशुल्क गरिएको र निवेदन नदिनेहरुलाई मात्र कोरोना परीक्षणका शुल्क लिने गरिएको प्रतिक्रिया दिए ।
कोरोना परीक्षण निशुन्क गर्नू भन्ने सर्बोच्च अदालतको आदेशलाई दैलेखमा वेवास्ता गरेको दैलेख बार एशोसिशनका जिल्ला अध्यक्ष मानवराज अधिकारीले टिप्पणी गरे । त्यसबखत सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सहायक निर्देशक दुर्गा गिरीले विद्यालयले किनेका सेनेटरी प्याड बालिकाहरुले प्रयोग गर्न नपाएको बताइन् ।
सरोकारवालाहरुका गुनासोबारे दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कोरोना रोकथामका लागि सरकारले धेरै साधन श्रोत लगानी गरेको बताए । उनले आम नागरिकहरुले मास्कको प्रयोग र दूरी कायम लगायतका सावधानी अपनाउन छोडेको असन्तुष्टी पोखे ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनीले प्रहरी हिरासतमा थुनुवाहरुका लागि ओछ्यान, कारागारको व्यवस्थापन र दैलेख अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्वास्थ्य सेवामा रचनात्मक कामको प्रशंसा गरेका थिए । आयोगका मानव अधिकार अधिकृत किरण बरामले स्वास्थ्य सेवामा पहुँच विषयक छलफलमा उठेका सवालहरुलाई सरकारका निकायहरुले उचित समाधान निकाल्नेमा आफूहरु आशावादी रहेको बताए ।

प्रतिक्रिया