लाँकुरीका ७ सय घरधुरीमा बिजुली, दियालोबाट छुटकारा

लाँकुरीका ७ सय घरधुरीमा बिजुली, दियालोबाट छुटकारा

दैलेख : जिल्ला सदरमुकाम दैलेख बजारमा २०५३ असोजमा पहिलो पटक सडक पुग्यो। सडक पुगेसँगै हालको कर्णालीको राजधानी वीरेन्द्रनगरसँग सिधा सम्पर्क जोडियो। विकासका अन्य पूर्वाधारहरु भित्रिन थाले। सडक पुगेको आठ महिनापछि सदरमुकाममा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली आइपुग्यो। 

२०५४ जेठबाट सदरमुकामबासीले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका हुन्। तर, सदरमुकामसँगै जोडिएको लाँकुरीका स्थानीय बासिन्दा सदरमुकामको झिलिमिली हेरेरै चित्त बुझाउँथे। सदरमुकाममा बिजुली बल्न थालेको २३ वर्षपछि लाँकुरीका स्थानीयले बत्ति बाल्न पाएका छन्। 

(साविक लाँकुरी गाविस) हालको डुङ्गेश्वर गाउँपालिका–२ का सर्वसाधारणले सोमबारदेखि राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका हुन्। वडाका सात सय ३१ मध्ये सात सय घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन्।  यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको स्थानीय उमा गुरुङ्ग बताउँछिन्। ‘सदरमुकामको उज्यालो हेरेर गाउँमा कहिले बिजुली आउला भन्ने सोच्थ्यौं’, गुरुङ्ग भन्छिन्, ‘गाउँमा बिजुली पुग्दा अन्धकारमुक्त भएका छौं।’

हुन त उक्त वडाको उम गाउँमा २०४४ सालदेखि साना किसान परियोजनाको आर्थिक र ऋण सहयोगबाट लघु जलविद्युतबाट जिल्लामै पहिलो पटक बिजुली बलेको थियो। पेल्टिकसेटबाट सुरुमा एक हजार वाट विद्युत उत्पादन हुने जलविद्युतले उम गाउँका सिमित घरधुरीमा बत्ति बलेको थियो। लघु जलविद्युतले केही घरधुरीमा साँझपख बिजुली बाल्न मात्र पुग्थ्यो। अहिले भने वडाको ९५ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली पुगेको हो। ‘सदरमुकामसँगै जोडिएको वडा भए पनि अन्धकार थियो’, स्थानीय महेन्द्रकुमार बुढा भन्छन्, ‘वडामा बिजुली आइपुग्यो, उद्योग व्यवसाय गर्न चाहनेले पनि लगानी बाहिर लैजान्थे, अब सहज हुने भयो।’ 

भरपर्दो विद्युत नहुँदा व्यवसाय सञ्चालन गर्न चाहनेले पनि व्यवसाय सञ्चालन गर्न सकेका थिएनन्। विद्युत सेवा पुगेपछि सबै खुसी भएका हुन्। साना उद्योग चलाउन खोज्नेले पनि लगानी गर्न सहज हुने स्थानीय नागरिकहरुको भनाइ छ। यति मात्रै होइन, धिपधिपे टुकीको उज्यालोमा पढ्न बाध्य विद्यार्थीले विद्युत्को उज्यालोमा पढ्न पाउनेछन्। जनकल्याण मावीमा कक्षा ११ मा अध्ययनरत बन्दना थापा भन्छिन्, ‘गाउँमा विद्युत् सेवा आएसँगै विद्युत्को उज्यालोमा पढ्न पाइने भयौं।’

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आइसकेपछि वडामा विद्युतीकरणको पहल थालेको वडाध्यक्ष राजुकुमार खत्री बताउँछन्। ‘निर्वाचित भइसकेपछि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर केहि बस्तीहरुमा विद्युत पुर्याएका थियौं’, वडाध्यक्ष खत्रीले भने, ‘अहिले सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रमको २ करोड ७० लाख र दैलेख निर्वाचन क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत ३० लाख गरी ३ करोड रुपैयाँको लागतमा वडाका सबै टोल बस्तीमा विद्युत पुर्याउन सफल भएका छौं।’ 

स्थानीय तहको निर्वाचन हुनु अघि गाउँपालिकाभर २६ प्रतिशत क्षेत्रका नागरिकले मात्रै विद्युत उपभोग गरिरहेका थिए। तीन वर्षमा ७० प्रतिशत क्षेत्रमा विद्युतीकरण गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए। आगामी दुई वर्षभित्र गाउँपालिकाका सबै वडाको अधिकांश क्षेत्रमा विद्युतीकरण गरिसक्ने लक्ष लिएको अध्यक्ष मल्लले बताए।

प्रतिक्रिया