चुनावमाभन्दा विकासतर्फ केन्द्रित हुनुपर्छ :मुख्यमन्त्री शाही

चुनावमाभन्दा विकासतर्फ केन्द्रित हुनुपर्छ :मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताले स्थिर राजनीतिका लागि आफूहरुलाई चुनेको भन्दै बाँकी रहेको दुई वर्ष चुनावमाभन्दा विकासतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक र प्रतिगमनकारी भन्दै यो निर्णयले देशको विकास १० वर्ष पछाडि धकेलिएको उनले बताए । ‘मध्यावधि चुनावले सबै कुरा समाधान हुँदैन,’ मुख्यमन्त्री कार्यालयले मंगलबार गरेको पत्रकार भेटघाटमा बोल्दै शाहीले भने, ‘जनताले पनि यसलाई स्वीकार गर्दैनन्, चुनावमा जानुभन्दा देशको आर्थिक उन्नतितर्फ केन्द्रित हुनुपर्छ ।’

उनले नेकपाको गठबन्धन फुटे पनि जनताले स्वाभाविक रुपमा लिने भन्दै राजनीतिमा आएको भूकम्पले जनतामा निराशा छाएको बताए । ‘इतिहास हेर्ने हो भने पार्टी फुट्दै र जुट्दै आएकै हुन्,’ उनले भने, ‘तर अहिले नेकपाका कार्यक्रम छुट्टाछुट्टै भए पनि वैधानिक रुपले भने एउटै हो फुटेको छैन ।’ मुख्यमन्त्री शाहीले न्यायलयले देश दुर्घटना हुनबाट जोगाउने र पुरानै लयमा देश फर्किने उल्लेख गरे ।

मुख्यमन्त्री शाहीले कर्णाली सरकारले बाधा पन्छाउँदै आफ्नै गतिमा काम गरिरहेको बताएका छन् । उनले बहुमतकै सरकार भए पनि विभिन्न बाधा आइरहँदा अल्पमतमै सरकार चलाएको अनुभूति गरेको उनले बताए । विकासका काम भए पनि भुक्तानीमा ढिलाइ हुँदा प्रगति थोरै देखिएको उनको भनाइ छ । अन्य प्रदेशको तुलनामा कर्णालीको भौगोलिक बनावट हेरी तीव्रताका साथ काम भइरहेको भन्दै उनले स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलगायत क्षेत्रमा सरकार गठन हुनुभन्दा अगाडिको अवस्थाभन्दा धेरै परिवर्तन आएको मुख्यमन्त्रीले बताए ।

‘तराईको क्षेत्र र कर्णालीमा उही बजेटले काम हुन सक्दैन,’ उनले भने, ‘सुर्खेतमा एक किलोमिटर ट्रयाक खोल्नु र कालीकोटका चट्टान फोडेर एक किलोमिटर सडक खोल्नुमा धेरै फरक छ ।’उनले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विकास बजेट निकै कम खर्च भए पनि अबको चौमासिकमा भने बढी हुने दाबी गरे ।

प्रतिक्रिया