न्यानो कपडा पाउँदाको खुसी

न्यानो कपडा पाउँदाको खुसी

सुर्खेत : श्रृष्टि विक । उमेरले तीन बर्ष पुगिन् । सानै छँदा श्रृष्टिलाई आमाले छोडेर हिडिन् । बुबा शारिरिक रुपमा अपाङ्ग छन् । उनि हाल बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरमा कक्षा नर्सरीमा छात्रबृतिमा अध्ययनरत छिन् । नियमित विद्यालय आउने श्रृष्टिले बुधवार न्यानो कपडा (ज्याकेट र ट्राउजर) पाइन् । न्यानो कपडा पाउँदा उनि खुसी देखिन्थीन् ।
उनि जस्तै सोहि मन्टेश्वरीमा कक्षा एलकेजीमा अध्ययनरत पुष्पा विक उमेरले पाँच बर्षकी हुन् । उनको पनि पारिवारिक अवस्था दयनिय छ । जाडोको समयमा न्यानो कपडा पाएपछि पुष्पाले खुसी व्यक्त गरिन् । सोहि मन्टेश्वरीमा कक्षा यूकेजीमा अध्ययनरत सिता विकको परिवारमा साँझ विहान छाक टार्नै मुस्किल पर्छ । तीन बर्ष अघि सिताको बुबाको मृत्यु भयो । उनकी आमाले मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएकी छिन् । उनि मन्टेश्वरीमा छात्रबृतिमा अध्ययनरत छिन् । न्यानो कपडा पाउँदा सिताको मुहारमा खुसी छाएको छ । चिसोको समयमा न्यानो कपडा पाउँदा उनि असाध्यै खुसी भएकी छिन्
श्रृष्टि, पुष्पा र सिता जस्तै वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतस्थित बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरमा अध्ययनरत सबै बालबालिकाहरुले न्यानो कपडा (ज्याकेट र ट्राउजर) वितरण गरिएको छ । न्यानो कपडा वितरण गरिएपछि बालबालिकाको मुहारमा खुसी छाएको हो ।
सामाजिक अभियान्ता रेश्मा बानुको सहयोगमा बालबालिकाले न्यानो कपडा पाएका हुन् । अन्तर्राष्ट्रिय मानव अधिकार संगठनमा आबद्ध रहेकी अभियान्ता बानुको सहयोग तथा विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतको समन्वय तथा आयोजनामा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।


मन्टेश्वरीका एक सय जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरका प्रिन्सीपल तथा सह–सञ्चालक रचना सुनारले जानकारी दिइन् । मन्टेश्वरीमा हाल एक सय जना बालबालिका अध्ययनरत छन् । ती मध्ये ३० जना बालबालिका पूर्ण छात्रबृतिमा अध्ययनरत छन् भने अधिकाँश बालबालिकाहरु आंशिक छात्रबृतिमा अध्ययनरत रहेको प्रिन्सीपल सुनारले जानकारी दिइन् ।
‘मन्टेश्वरी नीजि विद्यालय भएपनि हामीले सामाजिक तथा आर्थिक रुपमा पछाडी परेका बालबालिकाहरुलाई विशेष प्राथमिकतामा राखेका छौ,’ सुनार भन्छिन् ‘त्यस्ता अन्य बालबालिकाहरुलाई समेत गुणस्तरिय शिक्षाको पहुँचमा पु¥याउन सरकारी तथा गैरसरकारी निकायहरुबाट सहयोगको अपेक्षा गरेका छौ ।’
मन्टेश्वरीले सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपमा पछाडी परेका र अभिभावक विहिन बालबालिकाहरुलाई गुणस्तरिय शिक्षाको पहुँचमा पु¥याउन मद्धत पु¥याएको छ । बुधवार बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरमै पुगेर बालबालिकालाई न्यानो कपडा वितरण गर्दै अभियान्ता रेश्मा बानुले बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । अर्को प्रसंगमा अभियान्ता बानुले महिलाहरुसँग जोडिएर महिला अधिकारका सवालमा काम गर्ने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया